रास्वपामा लफडा ! बालेन र कुलमान समूह बेखुस

काठमाडौं। चुनाव अगावै प्रधानमन्त्री र अर्थमन्त्री घोषणा गरिसकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आन्तरिक लफडा चुलिएको संकेत देखिएको छ।
रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साह समूह र कुलमान घिसिङ संरक्षक रहेको अनुप उपाध्याय नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गरेको थियो। जसमा आगामी प्रधानमन्त्री बालेन साह हुने र पार्टीमा पनि बरिस्ठ नेता दिने सहमतिमै हस्ताक्षर भएको छ। त्यसैगरी तत्कालीन अवस्थामा उर्जा,सिंचाइ र भौतिक पूर्वाधार सहित तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङलाई पार्टी उपाध्यक्ष बनाउने सहित १४ जना समानुपातिक उम्मेदवार दिने पनि सहमति भएको छ। बालेन समूह र कुलमानसँग रास्वपाले एकैदिन होइन छुट्टाछुट्टै सहमति गरेको हो।
तर,राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता सभामा बालेन र कुलमान दुबै अनुपस्थित देखिए । बालेन र कुलमान भन्दा अगाडि रास्वपाले साझा विवेकशील पार्टीका नेताकार्यकर्तालाई एकता मार्फत भित्र्याएको थियो। जसको फाइदा पनि साझा विवेकशीलले पाइसकेको छ। केन्द्रीय सदस्यदेखि समानुपातिक उम्मेदवारमा पनि विवेकशीलले आफ्नो हिस्सा लिइसकेको छ। यद्यपि बालेन र कुलमान समूहका नेता पनि रास्वपाको समानुपातिक सूचिमा अटाएका छन् ।
एकता अभियान सुरुगरे लगत्तै रास्वपाका नेताकार्यकर्ताले छुट्टै व्यवहार गरेको भन्दै कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीका नेताहरू पुनः छुट्टै नामावली बोकेर निर्वाचन आयोग नै पुगेका थिए। तर,आयोगले समानुपातिक शुचि बुझाउने समय सकिएको भनेपछि फर्किए। त्यससँगै सुरु भएको असमझदारीले गर्दा रास्वपाले कुलमान समूहलाई केन्द्रीय सदस्यको शपथग्रहणसहित वैधता दिन सकेको छैन । बालेन समूहले महामन्त्री सहित पदाधिकारी र २७ केन्द्रीय सदस्य लिइसक्दा कुलमान समूहले थोरै मात्रै केन्द्रीय सदस्य पाउने भनिएको छ।
अहिले कुलमान मन्त्री समेत नरहेको अवस्थामा अब पूर्णकालिन पार्टी काममा फर्किने भनिसकेका छन् । तर,रास्वपा सभापति रवि लामिछानेका अनेकौं विवादका कुरा र सहकारी प्रकरण हुँदाहुँदै पनि एकता गरेका कुलमानले अब त्यो सबै भार बोकेरै अघि बढ्ने वा छुट्टै पार्टी अभियान चलाउने भन्ने दोधारमा पुगेका छन् । पछिल्लो समय निकटहरुसँग पनि उनले यस्तै बिषयमा छलफल गरिरहेका छन् । धेरैले रविको साथमा भन्दा एक्लै उज्यालो नेपाल पार्टीको बिचार बोकेर अघि बढ्न सुझाएका छन् ।
उता रास्वपामा प्रत्येक्ष चुनाव लड्ने आकांक्षी धेरै देखिएका छन् । जसले मेयर बालेन समूह र पूर्वमन्त्री कुलमान समूहलाई भनेजस्तो क्षेत्र र चाहेजती उम्मेदवार दिन सक्ने अवस्था छैन। रास्वपामा बालेन र कुलमान बाहेक पनि थुप्रै ब्यक्ति र समूह जोडिएका छन् । उनीहरुको प्राथमिकता पनि उम्मेदवार नै बन्ने हो। सागर ढकाल,खगेन्द्र सुनारदेखी एमाले,कांग्रेस र माओवादी छाडेकाहरु पनि चुनावको टिकट पाउने आशमा रास्वपा पुगेका छन् ।
त्यसैगरी बालेन साह समूहले केही कलाकार र अभियन्तालाई पार्टीको केन्द्रीय सदस्य दिलाउन सफल भएपनी पुराना र अनुभवी नेतालाई वेवास्ता गरेपछि उनीहरुले छुट्टै ‘लौरो अभियान’ सुरु गरेका छन् । जसमा बालेन निकट नेताहरू छन् । अचम्म त के छ भने रास्वपासँग असन्तुष्ट यो समूहमा स्वयं रवि लामिछानेका दाजु हरिशरण लामिछाने पनि संलग्न छन् । त्यस्तै विवेकशील साझाका पूर्व अध्यक्ष मिलन पाण्डे समेत रास्वपा गएका छैनन् । उनले रास्वपा उपसभापति डिपि अर्याल उम्मेदवार हुन चाहेको काठमाडौं क्षेत्र नम्बर ९ मा आफ्नो उम्मेदवारी घोषणा समेत गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चुनाव चिह्न र पार्टीको मूल नेतृत्व अर्थात् सभापति रवि लामिछानेलाई स्वीकारेर एकीकृत पार्टीमा जोडिएका बालेन,कुलमान,रन्जु दर्शना लगायत थुप्रैलाई चित्त बुझाउनुपर्ने बाध्यता रास्वपालाई छ। त्यसमाथि सुरुदेखि रविलाई साथ दिएका नेताहरूलाई पनि भाग पुर्याउन र चित्त बुझाउन पर्नेछ।यहि अवस्थामा पुराना दलहरू पनि चुनावी गठबन्धन भनिरहेका छन् ।पुराना दलाललाई जित्नै नदिनेगरी उम्मेदवारी उठाउने र प्रधानमन्त्री बालेनलाई बनाउने घोषणा भैसकेको अवस्थामा पार्टी भित्रको लफडा ब्यबस्थापन गर्न रास्वपाले कुन बिधि र प्रक्रिया अपनाउने हो त्यो हेर्न बाकी छ।

