अंग्रेजी नयाँ वर्ष २०२६ : सौराहामा भरिए पर्यटक

अंग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्थ्यो। पछिल्ला वर्षहरूमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गरेका थिए।
यस पटक भने केही दिनअघि नै आन्तरिक पर्यटकको घुँइचो लागेको छ। क्षेत्रीय होटल संघ नेपालका महासचिव महेश खनाल विगतमा राति १२ बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्थे। सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएको उनी बताएँछन्।
पर्यटक थपिएसँगै होटलको अक्युपेन्सी ७० प्रतिशत हाराहारी पुगेको थियो। आज साँझ भने सौराहाका अधिकांश होटल भरिने उनको आकलन छ। ‘९० प्रतिशतभन्दा माथि कोठाहरू पर्यटकले भरिने छन्,’ उनी भन्छन्।
मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा अझै सोचे जति पर्यटक आउन नसकेको उनको भनाइ छ।
जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उनी बताउँछन्। होटल संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताउँछन्। नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको बताउँदै घिमिरे रातिसम्ममा सौराहाका अधिकांश होटल भरिने अनुमान लगाउँछन्। यो समयमा स्वदेशी पर्यटक धेरै आउने गरेको उनी बताउँछन्।
क्षेत्रीय होटल संघ नेपालका पूर्वअध्यक्ष दीपक भट्टराई आफ्नो होटल भरी सकिएको बताउँछन्। अहिले ७० प्रतिशतभन्दा बढी नेपाली पर्यटक भएको भट्टराईको भनाइ छ। ‘नयाँ वर्षमा खुला र होटलहरूले गर्ने कार्यक्रममा रमाउन पर्यटक आउने गर्छन्,’ उनी भन्छन्।
नयाँ वर्ष मनाउन आउनेको चहलपहल निकै बढेको पूर्वअध्यक्ष घिमिरेका अनुसार सुनाउँछन्। आन्दोलन, सडकको समस्या र जहाज रोकिँदा पर्यटक घट्छन् कि भन्ने डर रहेको भए पनि अहिलेको अवस्था हेर्दा नयाँ वर्षमा पर्यटकको राम्रो आगमन हुने देखिएको उनी बताउँछन्।
जहाजका कारण आफ्ना पाहुना रोकिएको बताउँदै मौसमको चुनौतीका बाबजुत पर्यटक सौराहा आएको उनी सुनाउँछन्। गत वर्षको नयाँ वर्षमा भन्दा यो वर्ष पर्यटक बढ्ने उनको आकलन छ।
सौराहामा पर्यटक बढ्दै गर्दा रेस्टुराँमा पनि पर्यटक भरिन थालेका छन्। रेस्टुरा एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका रेस्टुरामा पर्यटक आउने क्रम बढ्दो छ। साँझ अबेर हुँदै गर्दा सौराहाको बगर क्षेत्र भरिने उनी खतिवडा बताउँछन्।
सौराहासँगै पटिहानी, जगतपुर, मेघौली क्षेत्रमा पनि पर्यटक नयाँ वर्ष मनाउन आउने गर्छन्। तेस्रो मुलुकका पर्यटक यतिवेला नयाँ वर्ष र क्रिसमस मनाउन घर जाने भएकाले भारतीय तथा स्वदेशी पर्यटक धेरै हुने गर्छन्। (रासस)

