प्रतिनिधि सभा पुनर्स्थापनाको लागि एमालेले देशव्यापी आन्दोलन गर्ने

काठमाडौं । एघारौं महाधिवेशन सकिए लगत्तै नेकपा एमालेले सडक आन्दोलनमा जाने घोषणा गरेको छ।
महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष केपी शर्मा ओलीले अब प्रतिनिधि सभा पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन र अदालतमा कानूनी लडाई साथमै लिएर जाने बताए । ओली सहित सबै निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथमा उनले यस्तो बताएका हुन् । यसको लागि भोलि केन्द्रीय समितिको पहिलो बैठक बोलाइएको छ।
अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै ओलीले असंवैधानिक ढंगले देशमा आगजनी र लुटपाट मच्चाएर गरिएको संसद् विघटन र सरकार गठन स्वीकार नहुने बताए । उनले यो सरकार असंबैधानिक र उल्टो बाटोको यात्री भएको समेत टिप्पणी गरे।
अध्यक्ष ओलीले भदौ २४ को घटनापछि देशमा पुराना पार्टीहरू सकिए भन्नेलाई एमालेले जवाफ दिएको र अझ बुझ्ने भाषामा दिने चेतावनी समेत दिए। ‘एमाले अजम्वरी पार्टी हो,कसैले सक्छु भनेर लाग्यो भने आफैं सकिन्छ’ उनले भने,-‘अब सबैलाई एकताबद्ध बनाएर एमाले अझ थप बलका साथ अघि बढ्नेछ,यो कुरा सबैले बुझ्दा हुन्छ ।’

