संसद पुनःस्थापना बाहेक अर्को बाटो छैन-ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनको बाटो बाहेक अरु कुनै बाटो नभएको बताएका छन् । उनले पुनःस्थापनाको लागि आफू पनि जोडतोडले लागेको खुलासा गरे।
पार्टीको ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष ओलीले पत्रकारसँग यो खुलासा गरेका हुन् । उनले संसद पुनःस्थापना बाहेक अर्को विकल्प नभएको र कांग्रेस एमाले बीच यसैमा सम्बाद भैरहेको पनि खुलाए। उनले कांग्रेस एमाले बाहेक अब पनि कसैले देश चलाउने सपना नदेख्न समेत आग्रह गरे। उनले असफल ब्यक्तिहरु मिलेर पार्टी खोल्दै हिंडदा १४३ पार्टी पुगेको भएपनी देश चलाउने चाहिँ काङ्ग्रेस र एमाले मात्रै भएको पनि बताए। त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र आफू बीच धेरै गम्भीर छलफल र कुरानी भएको ओलीले बताए। ‘हामीले तोरी छरेको होइन भोलि नै रिजल्ट आउन, हामिले त बकुल्ला रोपेको हो। रसाउदै गएर ढिलो भएपनी उम्रन्छ’ ओलीले भने-‘मुख्य दुई पार्टीका नेता भेट्दा देशको चिन्ता,पार्टीको चिन्ता र जनताको आवस्यकता बारे कुरा भएकै छ। तर,त्यसको नतिजा ढिलो आउँछ,राम्रो आउँछ ढुक्क हुनुस।’
वर्तमान सरकारलाई नागपन्चमीमा गोबर लगाएर टाँसेको ‘नाग’ को संज्ञा दिदै ओलीले यो सरकार अर्थहिन र काम नलाग्ने भएको बताए। ‘यो सरकार गोबरले टासेको नाग जस्तै कसैले ल्याएर टासेको हो,अरु केही होइन’ उनले भने-‘यो सरकारले बोलाएको ठाउँमा म जान्न। सुशीला कार्की नेतृत्वको सरकार अन्तरिम सरकार पनि होइन,असंवैधानिक सरकार हो। यो सरकारको सबै क्रियाकलाप गलत छ म यो सरकारलाई मान्दै मान्दिन।’
अध्यक्ष ओलीले फागुन २१ पछि फागुन २२ पनि आउँछ भन्दै धम्कीपूर्ण भाषामा वर्तमान सरकारलाई कुनै अप्रिय कदम नचाल्न सुझाए। तर, ओलीले मुसा घरमा पसेपछि कपडा के काट्छ थाहा नहुने भन्दै कोट पाइन्ट काट्छ कि थाङ्ना लुगा काट्छ भन्नेमा सचेत चाहिँ हुनुपर्ने भनेर व्यंग्य पनि गरे। उनले महाभारतमा पाण्डवहरुलाई आगो लगाएको भन्दै आफुलाई पनि त्यसैगरी आगो लगाउन खोजिएको भएपनी आफू त्यस्तो घेरा तोडेर निस्किएको बताए। ‘म राजिनामा दिएर पनि कामचलाउ प्रधानमन्त्री नै थिए,म कसरी भागे ? भागेको भए मैले सिफारिस कसरी गरे ?’ उनले भने-‘मैले बालुवाटार नछाड्न पनि सक्थे तर,बच्चाबच्ची खुशी होलान् भनेर पल्लोघरमा सरेर राष्ट्रपति,प्रधानसेनापति लगायतलाई जानकारी गराउदै प्रधानमन्त्री कै हैसियतमा काम गरिरहेको थिए। त्यत्तिकै भाग्यो भनेर हल्ला फैलाइयो।’
उनले भागेको मान्छे यस्तो हुन्छ त ? भन्दै पत्रकारलाई समेत घर डढाएको भएर फर्केर नआएको हो म लुकेको होइन,भागेको होइन। जब म डेरा पाएर गुन्डु आइपुगे मैले सबैलाई ‘म आए है’ भनेकै हो। ‘म कुनै नाकाबाट वा एयरपोर्टबाट आएको हो र ?’ उनले भने-‘म कतै बास मागेर बसेको मात्रै थिए । जब डेरा मिल्यो फेरि आइपुगे।’

