गोपीनाथको घर अर्थात हाकिमचोक !

तपाईं चितवन पुग्नुभएको छ भने त्यहाँका प्रायः चोकहरुबारे पक्कै जानकार हुनुहुन्छ होला ! चितवनको धेरै चोक मध्य भरतपुरको हाकिमचोक भन्ने ठाउँ पनि पक्कै सुन्नुभएको वा पुग्नुभएको होला ! तर,यो चोकको नाम कसरी ‘हाकिमचोक’ भयो ? भन्ने जिज्ञासा छ भने यसको रहस्य पनि बुझौं ।
२०२६ सालतिर चितवनको भरतपुर उराठ थियो। बाक्लो बस्ती कतै थिएन । एउटा दुइटा काठेघर र झुपडी देखिन्थे। हाल भरतपुर विमानस्थल भन्दा पूर्व पट्टीको चोकमा त्यसबेला एउटा पक्कीघर ठडिएको रहेछ, जुन आजसम्म पनि इतिहास बोकेर त्यहीँ ठडिइरहेको छ। कुनै बेला त्यो घरको छतबाट भरतपुर हाइट पूरै देखिन्थ्यो रे ! सबैतिर खाली र बोटबिरुवा मात्रै भएकोले टाढा टाढाको जंगल र डाँडा पनि देखिन्थ्यो । आज त्यै घरबाट हेर्दा तेस्रो घर पनि देखिन्न, दोस्रोले छेक्छ ।
धादिङ पुर्ख्यौली घर भएका गोपीनाथ खतिवडा २०१८ सालतिर चितवनको मालअड्डामा हाकिम भएर पुगेका रहेछन् ।पछि विभिन्न स्थानमा सरूवा भएपनि घरचाहिँ उनले चितवनमैं बनाउने निधो गरि महेन्द्र राजमार्गको छेउमा जग्गा किनेर घर बनाएछन् । त्यतिबेला सडक छेउमा भएपनी वरिपरि बस्ती नभएकोले बस्तिको नाम थिएन तर, बस्ती नभएको ठाउँमा हाकिमको घर उभिएपछि त्यो ठाउँले बिस्तारै ‘हाकिमचोक’ भन्ने नाम पाएको रहेछ।
त्यतिबेला अहिलेजस्तै छ्यापछ्याप्ती अड्डा अर्थात् कार्यालय पनि थिएनन् । मालअड्डा महत्त्वपूर्ण सरकारी अड्डा मानिन्थ्यो र धेरै काम त्यहीँबाट हुन्थ्यो । त्यसको छुट्टै शान र मान थियो । त्यस्तो अड्डाको हाकिम हुने मान्छेको पनि छुट्टै रवाफ हुने नै भयो। जिल्लाकै महत्त्वपूर्ण अड्डाको हाकिमको घर भएपछि त्यसलाई हाकिमचोक भन्ने नाम दिनु स्वभाविक हुन्थ्यो। बिस्तारै बस्ती बढ्दै गयो,मानिस भरिदै गए तर, सबैले चिन्ने र चिनाउने नाम भने ‘हाकिमचोक’ नै भयो।
तत्कालीन अवस्थामा मानिसलाई पहाडबाट तराईतिर बसाइँ सर्ने र सार्ने काम राजा र राज्य चलाउनेले योजनाबद्ध ढङ्गले नै गर्दथे रे ! आजका मानिसले आ-आफ्ना तरिकाले ब्याख्या गरेपनी त्यतिबेला राष्ट्रिय अखण्डता र खाद्यान्नको सन्तुलन मिलाउन पनि पहाडबाट केही मानिसलाई तराई झार्न खोजिएको हुन सक्छ ।
तर, माल अड्डाको हाकिम भएर चितवन पुगेका गोपीनाथ खतिवडाले भने आफैंले जग्गा किनेर त्यहाँ घर बनाएका रहेछन् । जागीरपछि उनले लामो समय मिल पनि चलाएको स्थानीयले स्मरण गरिरहेका छन् । हाकिमचोक भन्ने नामचाहिँ खासमा बसका यात्री र खलासीहरूले राखेका रहेछन् । त्यहाँ खास बस्ती र चोकको नाम नभएकाले सजिलोका लागि कहाँ झर्ने भन्दा हाकिमको चोकमा झर्ने भन्दा भन्दै त्यो नाम प्रचलनमा आएको रहेछ । आज यो चोक भरतपुरको केन्द्रजस्तै छ । कुनै बेला जम्मा तीन चार घर भएको र सालका ठुला रुखदेखि जङ्गली जनावरसम्मको बासस्थान भएको हाकिमचोक आज व्यस्त बजार भएको छ ।
२०४६ सालमा प्रजातन्त्र आएपछि केही स्थानीयले यसको नाम फेर्ने कोसिस पनि गरेका रहेछन् । त्यो समयमा ‘पृथ्वीचोक’ भनेर बोर्ड पनि टाँगिएको रहेछ । तर, पछि त्यो ‘पृथ्वीचोक’ भन्ने नाम कसैले उच्चारण नै नगर्ने र कसैलाई चिनाउनुपर्दा पनि हाकिमचोक नै भन्नुपर्ने भएपछि ‘हाकिमचोक’को पहिचान मेटिन पाएन।
हाकिमचोकका ‘हाकिम’ त अहिले छैनन् । तर,उनको परिवारले यसको बिरासत अझै धानेर राखेको देखिन्छ। हाकिमचोकबारे जान्ने इच्छा हुनेले अहिले पनि ‘हाकिम’ कै परिवारसँग भेटेर मनको तिर्सना मेट्ने गर्दा रहेछन् ।

