खुल्लामञ्च अब सधैं खुल्ला !

काठमाडौंको खुल्लामंच अब सबैकालागी सधैं खुला हुने भएको छ। काठमाडौं महानगरपालिकाले सौन्दर्यिकरण सहित यसलाई हेर्न लायक बनाएपछि अब सबैको लागी सधैं खुल्ला गर्न लागिएको हो।
विगतमा राजनीतिक पार्टीका आमसभा स्थलदेखी अव्यवस्थित बसपार्क र खुल्ला दिसापिसाब गर्ने ठाउँ बनेको खुल्लामन्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउरको रुपमा सिङ्गारिएको छ। वरिपरि खुल्ला पैदल मार्ग सहितको खुल्ला मञ्च अहिले हेर्न र बस्न लायक बनेको छ।
अहिले खुल्लामञ्चको चउरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ ।महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र खेलकुद विभागले चउरमा मलिलो माटो राखेर दुबो रोप्ने काम समेत गरेको हो ।
महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न, ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुल्ला मञ्चको चउरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको जनाइएको छ । चउरको वरिपरि ४ मिटर चौडाइको पैदल मार्ग पनि बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको हो ।
पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । त्यसैगरी यहाँ बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् र दिनमा आफैँ निभ्छन् ।
अब केही समयमा खुल्ला मञ्च सबैका लागि खुल्ला रहने बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ । यहाँ विहान शारीरिक अभ्यास गर्न सकिनेछ । वालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरुका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ ।
चउरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेलखेल्न सकिन्छ।
यहाँ ग्रेडिङ् र लेभलिङ्पछि दैनिक ५० जना जनशक्ति परिचालन गरेर करिब ३ महिना मैदानका ढुङ्गा टिप्न लगाएको थियो । खुल्लामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा विद्युत प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ ।

