रवि-बालेन र कुलमान एकैसाथ अघि बढ्ने

काठमाडौं । पुराना भनिएका दलहरूले चुनावी गतिविधि र पार्टी अभियानमा सक्रियता देखाएसँगै नयाँ र वैकल्पिक शक्तिहरु पनि एकैसाथ अघि बढ्ने तयारीमा देखिएका छन् ।

नेपाली कांग्रेस,नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आ-आफ्ना कार्यक्रम र रणनीति बनाउदै गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन साह र कुलमान घिसिङसँग मिलेर जाने कुरामा अन्तिम जोड लगाइरहेको छ। रास्वपाको कार्यकारी सभापति दाबी गरेका कुलमानलाई आगामी प्रधानमन्त्री भनेर घोषणा गरिए त्यसमा सहमति हुनसक्ने छ। अहिले त्रि-पक्षीय छलफल यसैमा अघि बढेको देखिन्छ।

यसका लागि रवि लामिछाने नेतृत्वको रास्वपा र कुलमानको संरक्षणमा खुलेको उज्यालो नेपाल पार्टीबीच सकेसम्म पार्टी एकता नत्र चुनावी तालमेल सहितको कार्यगत एकताको प्रयास पनि भैरहेको छ। यसमा काठमाडौं महानगरका मेयर बालेन साहका प्रतिनिधि पनि मिसिएको स्रोतले बतायो। यद्यपि मेयर बालेन भने प्रतिनिधि सभा चुनाव लड्ने छैनन् । उनी मेयरको ५ बर्षे कार्यकाल पूरा गर्ने र दोस्रोपटक पनि दोहोर्‍याउन चाहन्छन् ।

त्यसो त कुलमान र रविको एउटै पार्टी हुने संभावना भने निकै कम छ। त्यसको लागि दल दर्ताको समय आज मात्रै हो। आजै छलफल टुंगिएर एउटै दल निर्वाचन आयोगमा दर्ता हुने संभावना कम छ। यद्यपि चुनावी तालमेल र त्यसपछि एकता भने हुनसक्ने नेताहरूले बताएका छन् ।

त्यसको लागी रवि लामिछानेको मुद्दाको छिनोफानो नहुदा आगामी प्रधानमन्त्री भनेर रविलाई देखाउन समस्या देखिएको छ।  त्यसैले कुलमानलाई प्रधानमन्त्री बनाउने गरि रास्वपा चुनावमा गए अझै शक्ति बढ्ने आकलन पनि गरिएको छ। एकातिर वैकल्पिक नयाँ शक्तिहरुको बहुमत सहितको सरकार र अर्कोतिर पुराना पार्टीलाई कमजोर बनाउन यो प्रयास सार्थक हुनसक्छ भन्ने विश्लेषण गरिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय