ताप्लेजुङ पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर परिसरमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ।
शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझतिर हिउँ परिरहेको थियो। त्यसपछि शनिबार बिहानैदेखि हिउँ परेको स्थानीयहरूले बताएका छन्।
हल्का हिमपातसँगै पाथीभरा क्षेत्रमा चिसो थप बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। जाडोको तीव्रता बढ्न थालेपछि समितिले तीर्थयात्रीहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
हिमपातको कारण यातायात र आवतजावतमा सामान्य मात्र प्रभाव देखिएको छ। रातभर परेको हिउँका कारण बिहान मन्दिर पुगेका भक्तजनले पाथीभराको दर्शनसँगै हिउँमा रमाउने अवसरसमेत पाए। बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।

