एमाले कसैसँग नझुक्ने, भिड्नको लागि ‘युथफोर्स’ तयार

काठमाडौं । नेकपा एमालेले कसैसँग झुक्न नपर्नेगरी पार्टी संगठनलाई टोलटोलमा मजबुत बनाउने तयारी थालेको छ। पार्टीले यसको जिम्मा युथफोर्सलाई दिएको छ।

जेन-जी आन्दोलनले एमाले नेतृत्वको सरकार र प्रतिनिधि सभा समेत विघटन गरेपछि थप आक्रोशित बनेको नेकपा एमाले अहिले चुनाव भन्दा संसद पुनःस्थापनामा जोड दिएर अगाडि बढिरहेको छ। मंगलबार पनि एमाले ७५३ वटै पालिकामा जुलुस सहित धर्ना दिएको थियो। त्यसैगरी पार्टी महाधिवेशन र सडक संघर्ष अनि ठुला आमसभाको तयारी पनि एमालेले संगसँगै गरिरहेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डु स्थित निवासमा दैनिक पार्टीका गतिविधि भैरहेका छन् । गुण्डुबाटै एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतको संयोजकत्वमा युथ भोलेण्टियर्स समेत गठन गरेको छ। जसले देशभरका नेताकार्यकर्ताको सुरक्षाको जिम्मा लिनेछ। जो जसरी आएपनी लड्न तयार भएको यो संगठनले एमालेलाई कसैसँग झुक्न नदिने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी जुनसुकै शक्तिसँग जाइलाग्न सकिने गरि नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले पनि टोलटोलसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको छ। कात्तिक २३ र २४ गते बसेको संगठनको केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षाको परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउन टोलटोलसम्म युथ फोर्स गठन गर्ने निर्णय गरेको संगठनले सर्कुलरमार्फत् बताएको छ।

‘संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमहरूलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षाको परिस्थितिलाई मध्यनजर गर्दै आम जनताको सुरक्षाको प्रत्याभूति दिलाउन, आन्दोलनको चरित्र र विदेशी षड्यन्त्रको पर्दाफास गर्न र आम रूपमा समाजको सुरक्षाको सुनिश्चितता गर्न यो बैठक युवा जागरण अभियान सञ्चालन गर्ने निर्णय गर्दछ। यस अभियानअन्तर्गत् टोल–टोलमा टोल सुरक्षा समितिहरू बनाउने, वडा, पालिका र प्रदेश स्तरीय युथ फोर्स गठन गर्ने निर्देशित गर्दछ,’ सर्कुलरमा भनिएको छ।

यस अभियानको संयोजन गर्ने जिम्मेवारी संगठनका उपाध्यक्ष महाराज गुरूङलाई दिने निर्णय भएको सर्कुलरमा उल्लेख छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय