रवि लामिछानेलाई पार्टी भित्रै घेराबन्दी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने माथी पार्टी भित्रपनी आलोचना सुरु भएको छ।
सहकारी प्रकरणमा थुनामा परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछाने हाल नख्खु कारागारमा छन् ।जेन-जी आन्दोलन पछिको राजनीतिक घटनाक्रम र संसद विघटनसँगै फागुन २१ को लागि तोकिएको निर्वाचन लगायत बिषयमा छलफल गर्न पार्टी केन्द्रीय समिति बैठक जारी छ।
मंगलबारको बैठकमा धेरैजसो नेताले सभापतिको बिचाराधिन मुद्दा,जेन-जी आन्दोलनका बेला नख्खु कारागारबाट निस्केको बिषय र नेतृत्व हस्तान्तरण लगायतमा धारणा राखेका थिए। सो बैठकमा बोल्ने केही नेताले सभापति लामिछानेको मुद्दा किनारा नलागेसम्म पार्टी नेतृत्वबाट अलग बस्दा राम्रो हुने सुझाएका थिए। यद्यपि बैठक बुधबार पनि जारी रहने भएकाले निर्णय सहितको आधिकारिक धारणा भने आउन बाकी छ।
मंगलबार बोल्ने केही प्रदेश सभापतिहरुले लामिछानेले जेलबाट निस्कनु गल्ती भएको र केन्द्रीय नेताहरू नै जेलको गेटमा गएर हो-हल्ला गर्नु पार्टीको लागि हानिकारक हुनसक्ने बताएका थिए। तर, पछि बैठकबाट निस्कने बेला उनीहरुको धारणा अर्कै आएको छ। बैठकमा सहभागी ५ वटा प्रदेश सभापतिले सामूहिक रूपमा पार्टी सभापति रवि लामिछानेको विकल्प नखोजिएको दाबी गरेका छन् ।
दिउँसो बैठकमा सभापतिको आलोचना गरेर बोलेपनी पछि घेराबन्दी गरेको आरोप लाग्ने भन्दै उनीहरूले बोली सच्याएर प्रस्तुत भएका थिए। भित्र बैठकमा आलोचना गर्नेले समेत बैठकपछि सभापति लामिछानेको विकल्प सोच्नसमेत नसकिने भन्दै प्रतिक्रिया दिन थालेका छन्। बिशेषगरि कोशी प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका सभापतिले रवि लामिछाने बारे फरक धारणा राखेको बुझिएको छ।यद्यपि अहिले उनीहरुको समेत बोली फेरिएको छ।
तर,लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले भने प्रदेशको बैठकमै नेतृत्व बारे प्रयाप्त बहस हुनुपर्ने भनेका थिए। उनले केन्द्रीय समिति बैठकमा पनि रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकोले सबै कुरामा खुला बहस गर्ने दोहोर्याएका छन् ।

