सेनासँग अब देउवा दम्पती र ओली दम्पती मात्रै

काठमाडौं । जेन-जी आन्दोलन पछि सरकार र घरबार दुबै गुमाएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाकै ब्यारेकमा छन् ।

सेनाको संरक्षणमा रहेका माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,निवर्तमान गृहमन्त्री रमेश लेखक,संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ र उर्जा मन्त्री दिपक खड्का ब्यारेक छाडेर बाहिर आइसकेका छन् । यद्यपि उनीहरु सहित केही नेतालाई ब्यारेक बाहिर भएपनी अझै सेनाले सुरक्षा दिइरहेका छन् ।

कांग्रेस सभापति समेत रहेका ७९ बर्षिय देउवा घाइते छन् । उनकी पत्नी आरजु राणापनी घाइते अवस्थामा उपचाररत रहेको नेपाली सेनाले पुष्टि गरेको छ। देउवा दम्पतीको उपचार अझै एकसाता चल्नेछ। उनीहरुको बुढानिलकण्ठ स्थित निजि निवास समेत तोडफोड र आगजनी भएका कारण उपचारपछि आराम गर्न उनीहरुको लागि डेरा खोजिदै छ।

हाल देउवा दम्पतीसँगै देउवाका भितिज भानु देउवा छन् ।पार्टीका उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला र महामन्त्री गगन थापा देउवाको नियमित सम्पर्कमा छन् । देउवाको गर्धनमा गहिरो चोट लागेका कारण केही समय आराम गर्नुपर्ने चिकित्सकले बताएका छन् । उनीहरु दसैं वरिपरि मात्रै सेनाको ब्यारेकबाट निस्कने बुझिएको छ।

त्यसैगरी एमाले अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्य पनि नेपाली सेनाकै सुरक्षामा छन् । आन्दोलनकारी बालुवाटार प्रवेश गरेपछि हेलिकप्टर मार्फत उनीहरुको उद्दार गरिएको थियो। हाल ओली दम्पती सेनाकै संरक्षणमा रहेको एमालेले पनि पुष्टि गरेको छ। ओलीसँग एमाले नेताहरू प्रदीप ज्ञवाली,बिष्णु रिमाल र राजन भट्टराई नियमित सम्पर्कमा छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय