पार्टी खोल्दै बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दल खोल्ने भएका छन् । आगामी फागुन २१ को निर्वाचनमा भाग लिनेगरी उनले पार्टी दर्ता गर्न लागेका हुन् ।
स्वतन्त्र उठेर महानगरको मेयर बनेका बालेन जेन-जी आन्दोलन पछि उत्पन्न परिस्थितिमा अब दल दर्ता गरेरै अघि बढ्ने निश्कर्षमा पुगेका हुन् । बालेनले खोल्ने नयाँ दलको स्वरूप बारे छलफल भैरहेको उनी निकट स्रोतले बताएको छ। उनको दलको पुराना दलसँग सहकार्य चाहिँ नहुने पक्का छ।
बालेनलाई नयाँ पार्टी खोल्न उनकै समर्थकको दबाब छ। अहिलेको परिस्थिति नआएको भए पनि आगामी ०८४ को निर्वाचनलाई लक्षित गरेर उनी पार्टी गठन गर्ने तयारीमा थिए। तर, जेन-जी आन्दोलनले पुराना नेता लखेटेर सत्ता परिवर्तनदेखि नयाँ चुनाव सम्मको परिस्थिति बनेपछि बालेन माथी समर्थक बाटै छिटो पार्टी खोल्न दबाब आइरहेको छ। स्रोतका अनुसार दसैं तिहार सम्म ‘होमवर्क’ गरेर मंसिरमा नयाँ पार्टी घोषणा हुनेछ।
बालेनले नयाँ राजनीतिक दल गठन गर्ने कुरामा केही सामाजिक अभियन्ता, राजनीतिज्ञ,युवा व्यवसायी टिम र कलाकार समेतलाई लिएर छलफल गर्ने भएका छन् । उनको पार्टीमा वर्तमान सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल,उर्जामन्त्री कुलमान घिसिङ,पूर्वमन्त्री सुमना श्रेष्ठ,धरानका मेयर हर्क साङ्पाङ,पाइलट विजय लामा,डाक्टर भगवान कोइराला,सन्दुक रुइत लगायतलाई जोड्ने तयारी छ।
भर्खरै सत्ता पल्टाउने जेन-जी आन्दोलनको पुरै टिम पनि बालेन साहको साथमा रहेको भनिएको छ। त्यसैगरी केही अवकाशप्राप्त कर्मचारी,सुरक्षा निकायका प्रतिनिधि र कलाकार समेत उनको पार्टीमा जोडिने पक्का भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिद्रोह गरेर एउटा टिम बालेनसँगै जोडिन खोजेको निकट स्रोतको दाबी छ। बालेनको पार्टीको नाम नयाँ हुने वा अहिले पनि वाग्मती प्रदेशमा दुई सांसद रहेको ‘हाम्रो नेपाली पार्टी'(हानेपा) लाई नै पूर्ण अकार दिने भन्ने पनि छलफल चलेको छ।
बालेनसँग मिलेर अघि बढ्न राष्ट्रिय स्वतन्त्र पार्टी समेत तयार देखिएको छ। यद्यपि त्यसमा अहिले भएको नेतृत्व सहित कतिपय नेतालाई बालेन रुचाउँदैनन। त्यसैले रवि लामिछाने सहितको रास्वपालाई साथमा लिने अवस्था छैन। राहदानीदेखि सहकारी काण्ड सम्मले लामिछानेलाई विवादमा ल्याएको भन्दै बालेनकै सहयोगीहरु रविलाई लिन चाहदैनन् । यद्यपि रास्वपा भित्रको ठूलो समूह बालेनको पक्षमा रहेको र बालेनले नयाँ पार्टी गठन गरेमा उनीहरुले बिद्रोह गरेर बालेनलाई साथदिने बुझिएको छ।

