जेन-जी आन्दोलन : होटल क्षेत्रमा २५ अर्बको नोक्सानी

काठमाण्डौ । भ्रष्टाचार र सुशासनको लागि जेन-जीले भदौ २३ र २४ मा गरेको प्रदर्शनमा भएको तोडफोड र आगजनीबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँको क्षति पुगेको अनुमान छ ।
सो आन्दोलनको क्रममा काठमाडौ सहित देशका विभिन्न ठाउँमा रहेका झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । सङ्कलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित भएका होटलहरूमा काठमाण्डौ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायत क्षेत्रमा सञ्चालनमा रहेका होटल छन् ।
काठमाण्डौको नक्साल स्थित निर्माणाधिन हिल्टन होटलको मात्रै आठ अर्ब रुपैयाँभन्दा धेरेको क्षति भएको अनुमान छ । होटल प्रतिष्ठान लगायतमा भएको आगजनी, तोडफोड र लुटपाटबाट पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।
जेन-जीको प्रदर्शन र त्यसपछिको विषम अवस्थाले अरू क्षेत्रसहित पर्यटन क्षेत्र पनि प्रभावित बनेको छ । महत्त्वपूर्ण सम्पदासँगै अन्तर्राष्ट्रिय पहिचान र शाखको रूपमा रहेको देशको पर्यटन क्षेत्रमा पनि पछिल्लो आन्दोलनले असर पुर्याएकाे हो । पर्यटकीय सिजन शुरू हुनै लाग्दाको विषम परिस्थितीले पर्यटनलाई थिलथिलो बनाएको यस क्षेत्रमा आवद्ध व्यवसायीले बताएका छन् । अबको पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही रद्द नै भएको छ ।
भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्किनेक्रममा थियो । अब फेरि पर्यटन क्षेत्रलाई उठाउने सरोकारवालाले जनाएका छन् । पदयात्रा, धार्मिक तथा साहसिक पर्यटनमा कुनै असर नभएकाले चाँडै सुधार हुने उनीहरूको विश्वास छ ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को सेप्टेम्बरमा साढे २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवाला एकताबद्ध भएर पर्यटन पुनःरूत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

