फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन

काठमाडौं । प्रतिनिधि सभाको नयाँ निर्वाचन आगामी फागुन २१ गते बिहिवार हुने भएको छ। अन्तरिम सरकारले चुनाव सम्पन्न गर्नेछ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटन गरि २०८२ फागुन २१ गते बिहिवार प्रतिनिधि सभा निर्वाचन गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेपछि शुक्रबार राती ११ बजे राष्ट्रपति कार्यालयबाट यो घोषणा गरिएको हो।
प्रथम महिला प्रधानन्यायाधीश भएर न्यायपालिकाको नेतृत्व गरिसकेकी कार्की शुक्रबार रातिदेखि पहिलो महिला व्यवस्थापिका प्रमुख अर्थात् प्रधानमन्त्री बनेकी छन् । उनको नेतृत्वमा छिट्टै मन्त्री परिषद विस्ता हुनेछ। हाल सबै मन्त्रालय उनी आफैंसँग छ।
प्रतिनिधि सभा विघटन बारे राजनीतिक दलहरूले भने असहमति प्रकट गरेका छन् । नेपाली कांग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले संसद विघटनमा असहमति जनाएका हुन् । रास्वपा, राप्रपा र मधेसवादी पार्टीहरु चुपचाप छन् । यद्यपि रास्वपा नेतृ पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ प्रधानमन्त्रीको सपथ कार्यक्रम मै उपस्थित थिइन् ।
देशको जटिल परिस्थितिलाई नेपाली सेनाले सहज अवतरण गराएकोमा धेरैले सेनाको प्रशंसा गरेका छन् । सेनाले चाहेको भए राष्ट्रपतिलाई समेत हटाएर राजा ल्याउने वा आफैं साशन चलाउन पनि सक्थ्यो तर, नेपाली सेनाले सहजीकरण मात्रै गरेर संकट टारेकोमा धेरैले बधाई समेत दिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहाय यादव,पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई,नेपाली सेनाका प्रमुख अशोकराज सिग्देल,मुख्यसचिव ,सचीवहरु लगायतले बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए। पूर्वप्रधानमन्त्री भट्टराई सुरुदेखी नै जेन-जी आन्दोलनकारी र कार्कीको पक्षमा देखिएका थिए।

