आज राति खग्रास चन्द्रग्रहण

काठमाडौं । आज आइतबार भाद्र शुक्ल पूर्णिमाको राती खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। राति १०:११ बजेदेखि ग्रहण सुरु हुनेछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ। नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।
ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ। मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ । यस आधारमा मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्न मिल्ने छ । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ राशि भएका मानिसहरूका लागी यो ग्रहणले अति कष्ट दिनेछ ।
धार्मिक मान्यताअनुसार ग्रहणको केही घण्टा अगाडिदेखि नै सुतक लाग्छ। आज दिउँसो १ः११ बजेदेखि बालबालिका, वृद्ध र रोगी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। चन्द्रग्रहण अवधिमा हवन, मन्त्रजप, दान जस्ता कार्यलाई शुभ मानिन्छ भने सुत्ने, खानपिन गर्ने, मैथुन गर्ने, तेल लगाउने, कसैलाई बाँध्ने वा मार्ने कार्य गर्न निषेध गरिएको शास्त्रीय ग्रन्थहरूमा उल्लेख छ।
तर,वैज्ञानिक दृष्टिकोणले भने चन्द्रग्रहण पूर्णतया हानिरहित भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर नपर्ने प्रस्टाइएको छ। बरु खगोलप्रेमी र विद्यार्थीका लागि यो अवलोकन, अध्ययन र अनुसन्धान गर्न दुर्लभ अवसर बन्नेछ।

