एमाले बिधान महाधिवेशन आज सुरु, २३ सय सहभागी ३५ सयलाई खाना

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको विधान महाधिवेशन आजदेखी ललितपुरको गोदावरीमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

महाधिवेशनमा नेताहरूको स्तर अनुसार प्रवेशद्वार तोकिएको छ। अध्यक्ष ओली प्रवेश गर्ने ढोकाबाट अन्यलाई प्रवेश छैन। त्यसैगरी महाधिवेशनमा २३ सय देखि २५ सय जना सम्मको सहभागीता रहने छ। प्रतिनिधि दुई हजार ४६ जना र अन्य केन्द्रिय सदस्य,विभिन्न आयोग र भ्रातृसंगठनका अध्यक्ष एवं प्रतिनिधि गरेर यो संख्या पुगेको हो।  तर, महाधिवेशन स्थलमा खाना भने ३ हजार ५ सय जनालाई अर्डर गरिएको छ।

यसैगरी महाधिवेशन स्थल गोदावरीको सनराइज हलमा दिवङ्गत भएका नेताहरू पुष्पलाल,मनमोहन अधिकारी र मदन भण्डारीका तस्वीर अङ्कित फ्लेक्स र स्ट्याचु खडा गरेर कम्युनिस्ट पार्टीको झण्डा फहराइएको छ। रिङरोडको सातदोबाटोदेखि गोदावरीसम्मका बिजुली पोलमा नारा लेखिएको छ भने विभिन्न ठाउँमा स्वागतद्वार राखिएको छ।

यसैबीच महाधिवेशन अगाडि बसेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता बारे थप केही नेताले मुख खोलेका छन् । स्रोतका अनुसार उपाध्यक्ष रामबहादुर थापा बादल सहित सचीवद्वय गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि विद्या भण्डारीको सदस्यता नवीकरणमा पार्टीले पुनर्बिचार गर्नुपर्ने बताएका थिए। यद्यपि अध्यक्ष ओलीले त्यो कुरा मन पराएनन र कुनै थप छलफल भएन। तर,महाधिवेशन हलमा भने बरिस्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले विद्याको तर्फबाट छुट्टै प्रतिबेदन प्रस्तुत गर्ने तयारी छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय