बाबुराम भन्छन्,-‘आँखामा पट्टी बाँधेर सूर्य छेक्न खोज्ने मुर्ख सरकार’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारको फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई ‘मुर्ख’ भन्दै कडा आलोचना गरेका छन् ।
उनले सामाजिक संजाल बन्द गराउनु प्रतिगमनकारी कदम भएको टिप्पणी समेत गरेका छन्। अहिले अत्याधुनिक र लोकतान्त्रिक युगमा सामाजिक सञ्जाल नै बन्द गराउनु सूचनाको हक कुण्ठित गर्नु भएको उल्लेख गर्दै डा.भट्टराईले सरकारी निर्णयको निन्दा गरेका हुन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सामाजिक सञ्जाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो। अहिलेको विश्वव्यापीकरण, अत्याधुनिक सूचना-सञ्चार र उन्नत लोकतन्त्रको युगमा अन्य उपयुक्त नियमनकारी कदम सट्टा यस्ता लहडी कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको हकलाई कुण्ठित मात्र गर्छ। आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ।’
यसैगरी उनको नेतृत्व रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले पनि बिज्ञप्ति जारी गर्दै सामाजिक संजाल बन्द गर्ने सरकारी निर्णयको बिरोध गरेको छ।

