प्रेमिकाको ‘मुटु’ सुटकेसमा राखेर आफ्नै ‘मुटु’मा आगो !

केही दिनअघि रौतहटको गौर नजिक सुटकेसमा शव भेटिएकि रुवी साह र अर्को दिन जलेको अवस्थामा भेटिएका तर,उपचार गर्दागर्दै निधन भएका लक्ष्मण पासवानको अधुरो प्रेमले अहिले सबैको मुटु हल्लाइदिएको छ। त्यतिमात्र होइन ‘मेरो मुटु…’ भन्नेकै हत्या गरेर सुटकेसमा बन्द गरेपछि आफ्नो ‘मुटु’ पनि आगोमा जलाउने प्रेमीको भिडियो रेकर्डले झन् बढी कम्पन ल्याएको छ।
प्रेमिका रुवीको हत्या गरेर शवलाई सुटकेस भित्र राखेपछि प्रेमी भनिएका लक्ष्मणले अटोरिक्सामा राखेर शव व्यवस्थापन गर्न लैजाँदै थिए। तर, आधा बाटोमै इन्धन सकिएपछि बाटोमै सुटकेस फालेर लक्ष्मण भागे। यता संकास्पद रुपमा भेटिएको सुटकेस रातभर प्रहरीले कुरेर बस्यो, उता लक्ष्मणले आफैंलाई आगो लगाए। यो सुन्दै आङ जिरिङ्ग हुने घटनापछि यसको वास्तविकता खोतल्दै जाँदा झन् रहस्यमयी र डरलाग्दो विगत फेला परेको छ।
प्रेमी भनिएका लक्ष्मण र प्रेमिका रुविकुमारी साह एकै गाउँमा हुर्केका हुन् । दुबैले सँगै स्कुल पढेका र सोहीक्रममा एक अर्काबीच माया प्रेम बढ्दै गएर सुटुक्क भागी विवाह समेत गरेको रहस्यमयी तथ्य खुलेको छ। यद्यपि दुबैको निधन भैसकेको हुँदा यसको पुष्टि गर्ने आधार बाँकी होला नहोला त्यो अनुसन्धानले देखाउला। तर, रुविको हत्या भएपछि आफैंले शरीरमा आगो लगाएर आत्महत्या गर्न तम्सेका लक्ष्मणको हातमा मृतकको नामको फोटो सहितको ट्याटु र ‘मेरो मुटु रुविकुमारी…’ अर्थात ‘My Heart Rubi Kumari’ लेखिनुले उनीहरुको बीचमा केही पक्कै थियो भन्ने सत्यको नजिक पुर्याउन सक्छ ! शरिरमा आगो लगाएका लक्ष्मणलाई उपचारका लागी लगिदै गर्दाको तस्विर सामाजिक संजालमा देखिए अनुसार रुविको नामको ट्याटु लक्ष्मणको हातमा स्पष्ट छ।
लगत्तै लक्ष्मणले आगो लगाउनु अघि सामाजिक संजालमा भिडियो बनाएर ‘कोही कसैले त्यतीकै कसैलाई मार्दैन,हत्या गर्दैन । म धेरै रोएँ, मार्न मजबुर भएँ म । म रुबीलाई मार्न चाहँदैनथें’ भन्ने बयान दिएका थिए।
उनले रुवीको आमा निकै लोभी भएको र आफुसँग सम्पत्ति नभएकोले रुवीको र आफ्नो बिहे भएको कुरा स्वीकार नगरी भारतमा रुवीको पुनः बिबाह गरिदिएको समेत भनेका रहेछन् । लक्ष्मणको बयानलाई आधार मान्दा रुवीको भारतमा बिबाह भएर ४ बर्षको बच्चा समेत भएको तर, त्यसपछि पनि रुवी र लक्ष्मण एकअर्काको सम्पर्कमा रहेको बुझिन्छ । त्यतिमात्र होइन हत्या हुने दिनपनी उनीहरु लक्ष्मणको कोठामा केही समय सँगै बसेको देखिन्छ।
मृत्यु अघि लक्ष्मणले रुवी र आफू रुबी ६ कक्षा पढ्दादेखीनै प्रेममा रहेको र १० कक्षामा पढदै गर्दा घरबाट भागेर सितामढीको डुमरामा बिबाह गरेको समेत भनेका छन्। तर,रुवीको आमाले बिबाह नस्विकारेको र बिबाह गरेको कुरा पनि गोप्य राखेको भन्दै लक्ष्मणले त्यसपछि रुवीको आमाले दुवैलाई धेरै सताएको गाली गरेको र बेलाबेला धम्क्याउने गरेको समेत भनेका छन् । उनले हत्या भएको दिन पनि रुवीले आमालाई ब्यूटी पार्लर जान्छु भनेर आफ्नो डेरामा आएको र दुबैले धेरै कुरा गरेको, त्यसपछि झगडा परेको, झगडा हुँदा रुबिले ‘मलाई मार’ भनेको अनि आफुले चाहिँ तिमिलाई मार्दिन बरु आफैं मर्छु भनेको समेत खुलासा गरेका छन् ।
झगडा हुँदा हुँदै रुबिलाई मारेको र त्यसपछि आफू पागल जस्तै बनेको, हात काँपीरहेकाे भन्दै उनले भिडियो बनाएको देखिन्छ। त्यसमा उनले यो पनि भनेका छन्-‘हामीले सोचेका थियौं कि कोठा लिएर अलग्गै बसौं भनेर तर हामी दुबै डिप्रेसनमा पुगीसकेका थियौं । रुबीको आमाले हामीलाई धेरै मानसिक यातना दियो ।’
त्यसपछि लक्ष्मणले रुबिको हत्या गरेर आफैंलाई आगो लगाउने निर्णय लिएको देखिन्छ। उनले हत्या गरेपछि प्रहरीले पक्रिन्छ,यातना दिन्छ,जेल बस्नुपर्छ भन्ने सोचेर आफैंले आगो लगाएको देखिन्छ।
लक्ष्मणले भिडियोमा यो पनि भनेका छन् कि-‘मलाई प्रहरीले पक्राउ गर्छ भन्ने डर छैन । कानूनलाई म सम्मान गर्छु । त्यो रिक्सावालाको कुनै गल्ती छैन त्यसलाई केही नगर्नु, छोडी दिनु । त्यसलाई मैले बोलाएको थियो त्यो निर्दोष छ ।’
भिडियो बनाइसके पछि लक्ष्मणले माधव नारायण नगरपालिका-६ स्थित नहर अगाडि आफैंले आफूलाई आगो लगाएको देखिन्छ। घाइते अवस्थामा प्रहरीले उनको उद्धार गरेर अस्पताल पुर्याए पनि लक्ष्मणको उपचारको क्रममा निधन भयो। सुटकेसमा शव भेटिएदेखि लक्ष्मणको मृत्यु नहुदासम्मको जुन अड्कलबाजि गरिए ती सबै लक्ष्मणको मृत्युसँगै विलय भएको छ। एउटा अधुरो प्रेमले दुई जनाको ज्यान लियो, ४ बर्षे अबोध बालकले आमा गुमाएको छ। परिवारका सदस्यले आफन्त गुमाएर मात्रै सुख पाएका छैनन् त्यो पिडामाथी अन्य सामाजिक विभेद र लान्छना अझै सहनुपर्ने हुनसक्छ। त्यसैले आवेगले लिएको निर्णयले क्षणभरमै जीवन तहसनहस बनाइदिन्छ।

