कागेश्वरीले गर्यो स्थानीय तह संस्थागत क्षमतामा प्रगति

काठमाडौं। पूर्वी काठमाडौंको कागेश्वरी मनोहर नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुधार गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक गर्दा कागेश्वरीको प्रगति देखिएको हो। देशभरका ७५३ स्थानीय तहको स्वमूल्याङ्कन नतिजा सार्बजनिक भएसँगै कागेश्वरी नगरपालिकाले ८३.७५ अंक प्राप्त गरेको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।
कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुख कार्कीका अनुसार गतबर्षको भन्दा यसबर्ष नतिजामा सुधार आएको हो।विगतको मूल्यांकनलाई हेर्दा कागेश्वरी मनोहरा नगरपालिकाले आ.व २०७६/०७७ मा ६८ अंक मात्रै प्राप्त गरेको थियो । त्यसैगरी आ.व. २०७७/०७८ मा ७१.५ अंक, आ.व. २०७८/०७९ मा ६१.५ अंक र आ. व २०७९/२०८० मा ६७.२५ प्राप्त गरेको थियो ।
अघिल्लो कार्यकालमा यो नगरपालिकाको नेतृत्व नेकपा एमालेले गरेको थियो। यसपटक नेपाली कांग्रेसको तर्फबाट नगरप्रमुख बनेका उपेन्द्र कार्कीले क्रमशः नतिजामा सुधार गर्दै लगेका छन् । कांग्रेसका युवा नेता कार्की नेपाल नगरपालिका संघ वाग्मती प्रदेशका अध्यक्ष समेत हुन् । यस नगरपालिकाले गत आर्थिक बर्षहरुको तुलनामा उत्कृष्ट नतिजा प्रारम्भिक चरणमा ८६.५ र गुणस्तर परिक्षण पश्चात् समग्र ८३.७५ अंक प्राप्त गरेको हो ।
कागेश्वरी नगरपालिकाले नगरको भवन,नगर अस्पताल,खानेपानी लगायत भौतिक संरचना निर्माण र अन्य विकासका काममा जनताको मन जित्नेगरी काम गरिरहेको छ। सामाजिक,धार्मिक र ऐतिहासिक कुरामा समेत यो नगर चिनिएको छ। कृषि र पर्यटकीय क्षेत्रको रुपमा समेत यश नगरलाई चिनाउने काम भैरहेको छ।
काठमाडौं जिल्लामा एक महानगर र १० नगरपालिका रहेका छन् । जसमध्ये पूर्वी क्षेत्रको कागेश्वरी मनोहरा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को तेश्रो स्थानमा छ । सार्बजनिक भएको नतिजा अनुसार नागार्जुन नगरपालिका ८६.५० अंक सहित पहिलो स्थानमा छ भने टोखा र बुढानिलकण्ठ नगरपालिका समान ८५.२५ अंक सहित दोश्रो स्थानमा छन् । यसैगरि काठमाडौं महानगरपालिकाले ८१.७५ अंक प्राप्त गरेको छ ।

