बुढाबुढीको झगडाले पार्टी नै बर्बाद !

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले कार्तिक १७ गते रुपन्देही-३ मा उपनिर्वाचन नै लड्न नपाउने भयो। मधेसवादी सहितको मोर्चाले नागरिक उन्मुक्तिलाई नै सघाउने मोटामोटी सहमति गरिसकेको अवस्थामा झन् त्यै पार्टीले चुनावी प्रतिस्पर्धा गर्न नपाउने पक्का भयो।

पार्टी अध्यक्ष श्रीमती रन्जिता श्रेष्ठ र संरक्षक श्रीमान रेशम चौधरी बीचको झगडाले उपनिर्वाचनको निम्ति दल दर्ता गर्नै छुट्यो। यति मात्रै होइन रेशम-रन्जिता झगडाले जनमतसँगको पार्टी एकता पनि तुहियो। त्यसपछि पार्टी अध्यक्षबाट श्रीमती रन्जितालाई हटाएर बुबा लालवीर चौधरीलाई ल्याइएको कुरा पनि निर्वाचन आयोगले मानेन। यसले पार्टीका नेताकार्यकर्तामा थप अन्यौल भयो ।

अहिले फेरि पार्टी भित्र नयाँ विवाद सुरु भएको छ। श्रीमान-श्रीमतीको झगडाले पार्टी सत्तापक्ष हो कि प्रतिपक्षी हो भन्ने पनि टुंगो छैन। सत्तारूढ गठबन्धन छाडेको ४५ दिनमै नाउपाले सदनमा विपक्षीबाट सत्तापक्षको सिटमा सर्न निवेदन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउन खोजेको बिषयमा नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सत्तालाई समर्थन गर्ने स्पष्ट गरेकी छन् ।

अध्यक्ष रन्जिताले अब सत्तापक्ष हुने भन्दै सत्तापक्षमा बस्ने जानकारीको पत्र सभामुख देवराज घिमिरेलाई पठाएकी छन् । उनले असार २२ गते सरकारको समर्थन फिर्ता लिने भनी पठाइएको पत्र बदर भएको र सरकारप्रति समर्थन रहेको जनाएकी छन् । यो नाटकीय शृङ्खलाले पार्टी नै बर्बाद हुने खतरामा रहेको नेताकार्यकर्ता बताउँछन् । धेरैले यो बिषयमा संरक्षक रेशमलाई साथ दिएको भएपनी अध्यक्ष र पार्टी संसदीय दलको नेता रन्जिता भएका कारण निर्णयमा रेशमको हस्तक्षेपले काम गरेको छैन। रेशम यो सरकारको पक्षमा छैनन् ।

उता अध्यक्षको हैसियतमा रन्जिताले पत्र पठाउदै भनेकी छिन् -“सरकारबाट समर्थन फिर्ता लिने भनी संसद् सचिवालयमा समेत जानकारी गराएको बेहोरासहितको पत्र बदर गरी पार्टीको निर्णयबमोजिम वर्तमान सरकारमाथि पूर्णकालीन विश्वास एवं समर्थन रहेको जानकारी गराउँदै अब सरकार पक्षतर्फ रहने बेहोरासमेत अनुरोध गरिएको छ।”

त्यस्तै रन्जिताले दलको नेतामा आफू नै रहेको विवरण अभिलेखीकरका लागि पनि पत्र पठाएकी छन् । “…मा. गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदिय दलको भूमिकामा नरहने गरी मिति २०८२।०४।३० गते कारबाही गरेको हुँदा यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकामा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने बेहोरा जानकारी गराईन्छ,” पत्रमा भनेकी छन् ।

उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्नसमेत अनुरोध गरेकी हुन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय