गोप्य कुरा : प्रचण्ड-माधव अध्यक्ष, विप्लव महासचिव !

काठमाडौं । वामपन्थी एकताको सुगा रटाइ गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच पार्टी एकताको बिषयमा केही गोप्य सहमति जुटेको खुलासा भएको छ।

दुई नेताबीच आगामी ०८४ को निर्वाचनमा कांग्रेस-एमालेले केही सिटमा तालमेल गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आकार बढाउन सक्ने निश्कर्ष निकाल्दै नयाँ खालको एकता प्रयास गरेको खुलेको हो। यद्यपि यो बिषयको लिखित ड्राफ्ट समेत नबन्दै रोकिएको चर्चा समेत छ।

जसमा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच एकता गर्ने र त्यसमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा,महेन्द्र यादव नेतृत्वको टुक्रिएको नेसपा,प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) लाई पनि जोड्दै जाने तयारी थियो। त्यसरी एकता गर्दा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्मा,समाजवादीमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुषाललाई फकाउनुपर्ने अवस्था समेत थियो। फकाउदा नमानेर टुक्रिएर गए भने एमालेमा जानसक्ने भन्दै रोक्ने रणनीति समेत बनेको बुझिएको छ।

माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच यो बिषयमा गम्भीर छलफल भएको र अन्य नेताको समायोजन गर्दा पदको मर्यादा समेत ख्याल गर्ने भन्ने समेत कुरा चलेको थियो । त्यसमा प्रचण्ड र नेपाल दुबै अध्यक्ष रहने,झलनाथ खनाल सम्मानित नेता हुने, विप्लवलाई महासचिव बनाउने र नारायणकाजी श्रेष्ठ,वामदेव गौतम,बेदुराम भुषाल सहित केहिलाई बरिस्ठ नेता अनि घनश्याम भुषाल र महेन्द्र यादव सहित अहिले माओवादी र समाजवादीमा भएका सबै उपाध्यक्ष यथावत रहने समेत कुराकानी चलेको स्रोतको भनाइ छ।

यसैगरी खड्ग विश्वकर्मा प्रकाण्डलाई उपमहासचिव बनाउदै जनार्दन शर्मा,बर्षमान पुन,प्रकाश ज्वाला,मेटमणी चौधरी समेत कम्तीमा १५ जना उपमहासचिव बनाउने समेत कुरा भएको बुझिएको छ। तर, प्रचण्ड र नेपालले मात्रै छलफल गरेको भन्ने कुरा बाहिर आएपछि यो सबै कुरा तासको घर जस्तै बन्न पुगेको र तत्काल एकताको कुरा नै बन्द भएको खुलेको छ। स्रोतका अनुसार यो कुरालाई विप्लव स्वयंले समेत मन पराएनन् । त्यसपछि समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहित उनी पक्षका धेरै नेताले तत्काल ग्रुप च्याटमा प्रतिकार गर्न थालेपछि अध्यक्ष नेपाल निरास भएको बुझिएको छ ।

प्रचण्ड र नेपालले यस्तो गर्दैछन् भन्ने हल्ला फैलिएपछि भर्खरै समाजवादी प्रवेश गरेका वामदेव गौतम समेत रिसाएको र उनले एकता नै गर्ने हो भने प्रचण्ड,माधव र झलनाथले संरक्षक भएर बस्नुपर्ने र आफुलाई अध्यक्ष अनि विप्लवलाई महासचिव बनाएर पार्टी चलाउन दिनुपर्ने बताएका थिए। यद्यपि यी सबै कुरा मुख्य नेताहरूले गरेपनी अन्य केन्द्रीय नेतालाई पत्तो समेत नभएको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय