टप एन्ड टी-२० को पहिलो खेलमा नेपाल पराजित
काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ ।
नेपाल एनटीसँग ४२ रनले पराजित भएको हो । एनटीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए भने गुल्शन झाले २६ रन बनाए । कप्तान रोहित पौडेलले २३ रन बनाए ।
एनटीका लागि म्याट हामोन्डले ३ विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले २-२ तथा हामिश मार्टिनले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
एनटीका लागि कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टम एन्ड्रयुजले अविजित ३२ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमले ३२ रन दिएर २ विकेट तथा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।
नेपालले अब भोलि बंगलादेश ‘ए’ सँग खेल्नेछ ।