मुख्यमन्त्री बानियाँसहित ८ मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
आज मंगलबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँसहित नवनियुक्त मन्त्रीहरूले शपथ खाएका हुन्। बानियाँले कांग्रेस संसदीय दलको नेतामा बाजि मारेपछी वाग्मतीको छैटौं मुख्यमन्त्री बन्ने धोको पूरा भएको छ।कांग्रेस एमाले गठबन्धन कायम रहेको अवस्थामा आगामी चैत पहिलो सातासम्म बानियाँले मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँका साथै कांग्रेसका २ र एमालेका ६ मन्त्रीहरूलाई सपथ गराए। कांग्रेसबाट धादिङका शिवराज अधिकारी र कृष्णकुमार तामाङले शपथ खाएका हुन्। यद्यपि मन्त्री अधिकारीको लागि मन्त्रालय तोकिएको छैन भने तामाङलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएको छ।
यस्तै, एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। एमालेबाट कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, उद्योग मन्त्री विन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री दिनेशचन्द्र देवकोटा, स्वास्थ्य मन्त्री किरण थापा र वन मन्त्री भरत केसीले शपथ लिएका छन्।
१४ मन्त्रालय रहेका बागमतीमा एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ७ मन्त्री पाउनेछन्। कांग्रेसभित्रको किचलोले कांग्रेसले ५ मन्त्री भने नियुक्त गरेको छैन। केही दिनमा मन्त्री नियुक्त गर्ने बताइएको छ।

