मुख्यमन्त्री लामाले आज राजीनामा दिने

काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री बहादुरसिंह लामाले आज मुख्यमन्त्री पदबाट राजिनामा दिने भएका छन् ।
संसदीय दलमा इन्द्रबहादुर बानियाँले लामालाई पराजित गरेका थिए। अबको मुख्यमन्त्री बानियाँ हुनेछन् । उनले आजभोलि मै सरकारको नेतृत्व गर्ने तयारी छ। जसका कारण वाग्मती प्रदेशमा मन्त्रीहरु पनि फेरिनेछन् । लामाको पक्षमा खुलेका केही सांसदलाई छाडेर अन्यबाट मन्त्री बनाउने बानियाँको तयारी छ।
स्रोतका अनुसार पार्टी सभापति शेरबहादुर देउवासँग तीन बुँदे सहमति भएपछि हालका मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिन तयार भएका हुन् । लामा र बानियाँ दुबैले देउवा निवास बुढानीलकण्ठमा पुगेर समस्याको गाँठो फुकाएका हुन् ।
संसदीय दलको नेतामा बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान लामा लिएका थिए। उनले तत्काल आफुलाई असहयोग गर्ने मन्त्री हटाएर ३ मन्त्री नियुक्त पनि गरे। तर, उनको यो प्रयास काम लागेन। उनले नियुक्त गरेका मन्त्रीलाई सपथ नै नगराई प्रदेश प्रमुख उपचारको लागि भनेर काठमाडौं पुगे। यद्यपि बुढानिलकण्ठमा भएको सहमति अनुसार लामाले नियुक्त गरेका ३ जना मन्त्रीलाई शपथ गराउने र संसदीय दललाई एकताबद्ध बनाएर अघि बढ्ने उल्लेख छ।
मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। लामाको पक्षमा खुलेका तिनैजना बुढानिलकण्ठ सहमतिपछी बानियाँ नेतृत्वको सरकारमा सहभागि हुने निश्चित छ।

