सरकारमा कांग्रेस निरीह देखियो : डा.कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिलेर बनेको वर्तमान गठबन्धनको सरकारमा कांग्रेस निरीहजस्तै देखिएको कुरा दोहोर्याएका छन्।
स्व.बिपी कोइरालाको ४३ औं स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा डा.कोइरालाले उक्त कुरा बताएका हुन् । उनले गठबन्धनको सरकारमा एमालेले कांग्रेसको कोर भ्यालुमाथि आक्रमण गर्दा कांग्रेस निरीहजस्तै देखिएको कुरा यसअघि पनि बताउँदै आएका थिए। डा.कोइरालाले कुलिङ अफ पिरियडलाई हटाउने एमालेको प्रयास स्वीकार्य नहुने बिषय पार्टी सभापतिले प्रधानमन्त्रीलाई स्पष्ट राख्न नसकेको बारे पनि टिप्पणी गरे। उनले यसबारे सभापतिले कांग्रेसको धारणा जे हो त्यै राख्न सक्नुपर्ने बताए।
उनले कुलिङ अफ पिरियडका बिषयमा राज्य व्यवस्था समितिका सभापति र पार्टीका सांसदको समेत गल्ती रहेको पनि बताए।त्यसमा भएको त्रुटि सच्याउने नाममा राष्ट्रिय सभामा एमालेका सांसदहरूले झन् ‘कुलिङ पिरियड हटाउनुपर्छ’ भनेर लेख्ने हिम्मत गर्नुभनेको कांग्रेसको कोर भ्याल्युजमा अट्याक गरेको हो की होइन ? भनेर प्रश्न समेत तेर्साए।
यसैगरी भूमि सम्बन्धी विधेयक पारित गर्न एमालेले हतार गरेको र भूमि विधेयकमाथि छलफल गर्न एमाले सांसदहरु डराएको बारे पनि कोइरालाले शंका व्यक्त गरे। उनले एमालेकै कास्की जिल्ला कमिटीले भूमिमन्त्रीको राजीनामा माग्दा कांग्रेस अझै लाचार भएर बसेकोमा आश्चर्य जनाए।
कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले प्रतिकुलता र जटिलताबाट अहिले गठबन्धनको सरकार बनेको भन्दै सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। उनले कुलिङ अफ पिरियड र भूमि विधेयकका सन्दर्भमा दुई दलको फरक मतलाई हल गर्न प्रधानमन्त्री केपी शर्मा ओली नै गम्भीर हुनुपर्ने बताए।

