काठमाडौं महानगरको छात्रवृत्तिका लागि १७ हजारभन्दा बढी विद्यार्थीको आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि खुलाएको आवेदनमा देशभरका ७७ वटै जिल्लाबाट कुल १७ हजार २२९ विद्यार्थीले आवेदन दिएका छन्।
शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा १२ हजार ३३७ जना विज्ञान विषयका, ४ हजार ४८१ जना व्यवस्थापन, ३४ जना मानविकी, १०४ जना शिक्षा र २७३ जना कानुन विषयका रहेका छन्। उनले यो तथ्यांकले विज्ञान विषयप्रति विद्यार्थीहरूको आकर्षण अत्यधिक रहेको संकेत दिएको बताए। विज्ञान विषयमा मात्रै कुल आवेदनमध्ये झन्डै ७१ प्रतिशत विद्यार्थी सहभागी भएका छन्।
हाल प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ। पौडेलका अनुसार यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुनेछ र त्यसपछि बाँकी कार्यहरू पूरा गरी साउन १ गतेदेखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन्।
प्रवेश पत्र प्राप्त गर्नका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np वा entrance.kathmandu.gov.np मा गई “एडमिट कार्ड” बटनमा क्लिक गरेर आवश्यक विवरण भरेर डाउनलोड गर्न सकिनेछ। प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी पनि उल्लेख हुनेछ।
छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न रहनेछन्। सबै प्रश्नहरू बहुवैकल्पिक हुनेछन्। परीक्षा पास गर्न कम्तीमा ४० प्रतिशत अंक अनिवार्य हुनेछ भने गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन।
परीक्षापछि मेरिटको आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो कार्यक्रम आर्थिक रूपले कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा छनोट भएका विद्यालयहरूमा अध्ययन गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ ल्याइएको हो।
शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले काठमाडौं महानगरपालिकाले गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउने र विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

