सन्दीप लामिछानेको नाममा क्रिकेट मैदान निर्माण थालियो

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको सम्मानमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५, आरुचौरमा क्रिकेट मैदान निर्माण थालिएको छ। सन्दीपकै जन्मथलोमा पर्ने थाप्लेमा गाउँपालिकाको पहलमा मैदान बनाउन थालिएको हो।
गाउँपालिकाको बजेट र स्थानीयवासीको जनश्रमदानमा निर्माण कार्य अघि बढाइएको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिए। उनका अनुसार डाँडाको टुप्पोमा रहेको समथर सार्वजनिक गौचरनलाई मैदानको रूपमा विकास गरिँदैछ।
आर्थिक वर्ष २०८१/८२ बाट सुरु भएको यो परियोजनामा हाल मैदान सम्याउने काम भइरहेको छ। तर, वर्षाका कारण काम केही समयका लागि रोकिएको छ।
अध्यक्ष तिवारीका अनुसार वर्षा सकिएपछि कामलाई तीव्र रूपमा अगाडि बढाइने छ।

