हाँगो भाँचिनेगरी लटरम्म स्याउ

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका-९ का स्थानीय अहिले निकै खुशी छन् । सिङ्गो पाण्डुसैन गाउँ स्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएपछि स्थानीयमा खुशी छाएको हो।
बाजुराको पाण्डुसैन स्याउ उत्पादनका लागि निकै उपयुक्त ठाउँ हो । यहाँका स्थानीयले विभिन्न जातको स्याउ राम्रो उत्पान गर्दै आएका छन् । तर,गाउँमा सडक सुविधा नहुँदा त्यो स्याउ कतै बिक्री नभई खेर जाने गरेको थियो ।

पछिल्लो समय मार्तडी कोल्टी सडक यो गाउँको बिचबाट विस्तार भएसँगै अहिले यहाँका स्थानीयको मुख्य पेशा नै स्याउ खेती बनेको छ । यहाँका तीन सय भन्दाबढी घरधुरीले स्याउ खेती गर्दै आएका छन् ।

गत वर्ष मात्र यहाँका किसानले झण्डै सात हजार पाँच नयाँ जातको गोल्डेन हाइडेन्सिटी डेलिसिएस लगायत अरुपनी नयाँ जातको स्याउको बोट लगाएका छन् । यो वर्ष पनि किसानले दुई हजार पाँच सय स्याउको बोट रोपेको स्याउ किसान मानबहादुर रावत बताउछन् ।

“गत वर्षमा यहाँ स्याउ राम्रो भएको थियो । त्यो स्याउ बिक्रिबाट झण्डै ५० लाख आम्दानी गरियो”,-उनले भने-“यो वर्ष स्याउ फुल्ने बेलामा खडेरी परेर त्यति धेरै फलेको छैन ।तर,आम्दानी घट्दैन। स्याउमा सिँचाइ हुनेको राम्रो फलेको छ । सिँचाइ नहुनेको अलि कम फलेको छ ।”

स्याउ खेतीको लागी उपर्युक्त जमीन भएपनी यहाँ सिँचाइको अभाव छ । यद्यपि यहाँका किसान पछिल्लो समय स्याउ खेती गर्न थालेका छन् । उनीहरुको मुख्य पेसा अहिले स्याउ नै बनेको छ । तर गाउँमा सिँचाइ सुविधा छैन । सिँचाइ सुविधा हुने हो भने यहाँका किसान स्याउ खेतीबाट नै जिविकोपार्जन गर्न सक्षम हुने स्थानीयको भनाइ छ ।
पाण्डुसैनमा सबै भन्दाबढी स्याउ लगाउनेमा शेरबहादुर रावत, मानबहादुर रावत र चक्र बोगटी हुन् ।

पाण्डुसैनलाई अहिले त्यसक्षेत्रको स्याउको राजधानी समेत भन्ने गरिन्छ । यहाँ राम्रो स्याउ उत्पादन हुन्छ । पहिलाका भन्दा अहिले यहाँका किसानले तेब्बरमा स्याउ लगाउने गरेका छन् । पहिला उनीहरूले लगाएको स्याउ स्थानीय जातको मात्र थियो भने अहिले मनाङदेखि उन्नत जातको स्याउ ल्याएर खेती गरेका छन् । त्यो स्याउ दुई तीन वर्षमा राम्रो फल्ने पनि गरेको छ । अहिले नयाँ जातको स्याउ पनि फल्न थालेको छ।
बुढीनन्दा नगरपालिका-९ का वडा अध्यक्ष मानबहादुर रावत भन्छन्, “पहिला स्याउ फले पनि त्यो यहाँ आउने केहीले मात्र किन्ने गर्थ्ये । खासै बिक्री हुँदैन थियो । अहिले गाउँमा सडक पुगेसँगै त्यो स्याउ मार्तडीदेखि देशका विभिन्न ठाउँमा बिक्री हुने गरेको छ ।”

गत वर्षमा गाउँबाट झण्डै पचास लाख रुपियाँको स्याउ बिक्री भएपछि किसानको आशा झन् बढेको छ। आफुले लगाएको स्याउ घरबाटै बिक्री हुन थालेपछि पछिल्लो समय किसान स्याउ खेतीबाट नै आत्मनिर्भर बन्दै गएको वडाध्यक्ष रावत बताउँछन् ।

बाजुराको हिमाली क्षेत्रसँगै स्वामिकार्तिक खापर, जगनाथ बडिमालिका, गौमुल र खप्तडछेडेदहमा स्याउ उत्पादन राम्रो हुने गरेको छ । सबै भन्दाबढी बुढीनन्दा स्वामिकार्तिक खापर जगनाथ गाउँपालिकामा उत्पादन भएको छ । त्यसपछि हिमाली , बडिमालिका , गौमुल र खप्तड छेडेदहमा पनि उत्पादन हुन्छ ।

स्याउ पाक्ने सिजन वर्षा हुने र मार्तडी कोल्टी सडक बेलाबेला अवरुद्ध हुने गरेकोले उनीहरूलाई स्याउ बजारमा पुर्‍याउन कहिलेकाहीँ समस्या हुने गरेको छ ।

कर्णाली काेरिडोर सडकले केही सहज गरेको भए पनि साँफे मार्तडी र मार्तडी कोल्टी सडक स्याउ पाक्ने बेलामा प्रायः अवरुद्ध हुने गरेकोले स्याउ किसानले सरकारको ध्यानाकर्षण गराएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय