बाँझो जमिनमा हेडसरको ‘खुर्सानी क्रान्ति’

४५ वर्षको अधबैँसे उमेर पार गर्दैगर्दा पाल्पाका जनक आचार्यलाई कामको चाप झनै बढ्दो छ । बिहान-बेलुका व्यावसायिक कृषि र दिउँसो शिक्षण पेशा गर्ने उनी फुर्सदले एकछिन पनि बस्न चाहँदैनन् । बसाइँसराइले बाँझो बनेको जमिनमा अकबरे (डल्ले) खुर्सानी फलाएर जनकले कृषि क्रान्ति गरेका छन् । साथै उनी रिब्दीकोट गाउँपालिका–७ स्थित प्रभात माध्यमिक विद्यालयका प्रधानाध्यापक रहेका उनी अहिले ‘अकबरेको हेडसर’का रुपमा पनि चिनिन्छन् । यी दुई पेशाले उनलाई दोहोरो परिचय दिलाएका छन् । उनलाई गाउँलेले ‘डबल हेडसर’का रूपमा चिन्छन् ।
विगत २० वर्षदेखि अध्यापन गराउँदै आएका उनले पाँच वर्षअघि कृषि पनि गर्ने निचोड निकाले । त्यसपछि खुर्सानी खेती शुरू गरेका उनी त्यसयता कृषिलाई सम्मानित पेशा बनाउन लागिपरेका छन् । उनले खुर्सानीसँगै सुन्तला, गोलभेँडा, तरकारी खेती र कुखुरापालन पनि गरेका छन् । ‘मेरा कतिपय निकट साथीहरू नै पढाउँदै कृषि पनि गर्न सकिन्छ र ? भनेर प्रश्न गर्ने गर्थे,’ उनी भन्छन्, ‘अहिले आफैँ कृषक बन्न थालेका छन् । त्यो देख्दा मलाई मैले सही गरेँछु भन्ने महशुस हुन्छ ।’
बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमा हुने उनी बचेको समयमा खुर्सानी, सुन्तला र तरकारी खेतीको रेखदेख गर्न जुट्छन् । उनी स्कूलबाट आएपछि हतार–हतार खेतबारीमा पुगिहाल्छन् । उनी विद्यालय जाँदा श्रीमती सजिताले कृषिको काम गर्ने गर्छिन् । अहिले आचार्य दम्पतीले वार्षिक ५० लाख रुपैयाँ त कृषिबाटै आम्दानी गर्ने गर्छन् ।
अनि शुरू भयो खुर्सानी खेती
केही दशकयता पहाडबाट शहरी क्षेत्र तथा तराईमा बसाइँ सर्नेको लहर छ । यसबाट पाल्पा अछुतो हुने कुरै भएन । बसाइँसराइले अहिले रिब्दीकोटमा अहिले किसानको संख्या घट्दो छ । ती किसानहरू पनि बाँदर र बँदेलबाट अन्नबाली जोगाउन नसक्दा हैरान थिए । यसले गर्दा जनकलाई पनि एकपटक गाउँ छोडौंजस्तो लागेको थिए । तर उनले एउटा जुक्ति निकाले । बाँदरले खुर्सानी खाँदैन भन्ने त्यसैले यसैको खेती गर्ने । यसबीचमा उनले पूर्वी नेपालमा खुर्सानी खेती राम्ररी गरिएको छ भन्ने सुने । यो थाहा पाएपछि अध्ययन गर्न भनेर उनी निस्के । त्यहाँबाट उनले २ हजार रुपैयाँ किलोग्रामका हिसाबले कोसा बीउ खुर्सानी किनेर खुर्सानीको खेती थाले । आफूले पूर्वका कृषक मदन राईबाट धेरै ज्ञान लिएको र त्यसैबाट खुर्सानी खेतीमा जुटेको जनक बताउँछन् ।
शुरूमा आफैँ नर्सरी उत्पादन गरेर व्यावसायिक खुर्सानी उत्पादनमा केन्द्रित भए उनी । पहिलो वर्ष १३५ रोपनी क्षेत्रफलमा खुर्सानी लगाए । व्यवसायिक उत्पादनमा लागेको पहिलो वर्ष उनलाई सोचभन्दा राम्रो सफलता मिल्यो । जनकले अकबरे खुर्सानी खेती करिब २५–२६ लाख रुपैयाँ खर्च गरेर शुरू गरेका थिए । पहिलो वर्ष नै उनी ४० लाखको उत्पादन बिक्री गर्न सफल भए । दोस्रो वर्ष भने पहिलो वर्षजस्तो लगानी धेरै गर्न परेन फाइदा पनि करिब दोब्बर हुन पुग्यो । पहिलो वर्ष १३५ रोपनीमा खेती गरेका उनले दोस्रो वर्षदेखि भने यसको क्षेत्रफल घटाए । ‘किनकि सबै जमिन खुर्सानीका लागि उपयुक्त थिएनन् । बाँकी जमिनमा धान खेती वा अन्य खेती गरेर हाल ५५ रोपनी क्षेत्रफलमा मात्रै अकबरे लगाएको छु,’ उनी भन्छन् ।
शुरूका वर्षमा जनकले प्रतिकिलो २५० लेखि ३५० का दरले बिचौलियालाई खुर्सानी बेचेका थिए । त्यसपछि उनको खुर्सानी खरिद गर्न रुपन्देहीको एशोदा फुड्स घरमौ आइपुग्यो । ठूलो परिमाणमा खुर्सानी आवश्यक पर्ने भएपछि स्पाइसी चाउचाउ उत्पादन गर्ने एशोदाले राम्रो मूल्य पनि दिन थाल्यो । एशोदाले खुर्सानी खरिद गर्ने ग्यारेन्टी गरेपछि जनकले गाउँपालिकामा प्रस्ताव गरेर अन्य कृषकलाई पनि उत्पादनमा जोडिदिएका छन् । अन्य कृषक पनि अकबरे खेतीमा जोडिएपछि उनले बिउका लागि उनीहरूलाई तयारी बियाँ बेच्ने गरेका छन् । बियाँ प्रतिकिलो २५ हजार रुपैयाँ र सुकेको खुर्सानी प्रतिकिलो २ हजार ५०० मा बिक्री गर्ने गरेका छन् । आफूले उत्पादन गरेको बीउलाई रिब्दीकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास संघ तथा लमजुङ र कैलालीसम्मका किसानले खरिद गरेर लग्न थालेको उनले बताए ।
खुर्सानी खेतीमा पहिलो वर्ष लगानी केही बढी लागे पनि त्यसपछिका वर्षमा भने लगानी दर घट्दै गइरहेको जनकले सुनाए । एउटा बिरुवाले कम्तीमा २–३ वर्षसम्म उत्पादन दिने गरेको छ । पहिलो वर्ष प्रत्येक बिरुवाबाट १ किलो तथा त्यसपछिका वर्षमा २ किलोसम्म उत्पादन भएको उनले बताए ।
खाली खुर्सानी खेती मात्रै होइन जनकले गरेको सुन्तला खेती पनि अहिले व्यावसायिक चरणमा पुगेको छ । गतवर्ष बँगैचामै आएर व्यापारीहरूले १८ टन सुन्तला लगेको उनले जानकारी दिए । त्यसो त जनकले सन्तला खेती खुर्सानीभन्दा पहिले नै २०७० सालमा शुरू गरेका थिए । यसले व्यवसायिक रुप लिन थालेको भने धेरै भएको छैन । हाल ४२८ वटा सुन्तलाका बोटले उत्पादन दिने गरेको उनले सुनाए । ती बोटबाट आकारअनुसार प्रत्येक वर्ष ४० देखि १५० किलोसम्म सुन्तला उत्पादन हुने गर्छ । परम्परागत तरिकाले रोपिएका ३० वर्षअघिका पुराना बोटलेसमेत उत्पादन दिइरहेको उनले बताए ।
(यो सामाग्री कृषि प्रेसबाट लिइएको हो)-सं

