रामकुमारी झाक्रीलाई पार्टीले कारबाही गर्ने !

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाक्रीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

गत शनिबार पार्टी निकट युवा संघको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै स्थायी समिति सदस्य झाक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालतिर लक्षित गर्दै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ भनाइ राखेकी थिइन् ।

काभ्रेको पतन्जली जग्गा प्रकरणमा मुद्दा लागेपछि सांसद पद निलम्बनदेखि अदालतले धरौटीमा छाडेको ब्यक्तिलाई पार्टी अध्यक्ष मानेर बस्न नहुने उनको तर्क थियो।‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन,’ उनले भनेकी थिइन्, ‘हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नु परेन? गरौँ न त अर्ली महाधिवेशन गरौँ। हलबाट नेतृत्व छानौँ।’

त्यसपछि झाक्रीको अभिव्यक्तिबारे पार्टीमा कुरा चल्न थालेको र ३ दिनभित्र स्पष्टीकरण दिन समेत भनिएको छ। पार्टी वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पनि झाक्रीको भनाइमा आपत्ति जनाएका छन् । पाण्डेको भनाइमा रामकुमारी झाक्री अब एकीकृत समाजवादीको नेता भन्न सुहाउने हैसियतमा नरहेको र उनलाई स्पष्टीकरण सोधेर कारबाही गरिनेसम्म उनले धम्की दिएका छन् ।

झाक्री मात्रै होइन एकीकृत समाजवादीमा अहिले असन्तुष्टहरुको बेग्लै कमिटीदेखि छुट्टाछुट्टै भेला समेत हुने अवस्था छ। तीन दिनअघि मात्रै समाजवादी निकट विद्यार्थीको छुट्टै समानान्तर कमिटी घोषणा भैसकेको छ। त्यस्तै उपमहासचिव मेटमणी चौधरीको लेनदेन विवाद पनि बाहिर आएको थियो। यद्यपि त्यो मुद्दा अघि नबढेको बुझिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...