सरकारको काम सन्तोषजनक छैन : नेपाली काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गठबन्धनदेखि पार्टी नेतृत्व सम्मको कार्यशैली सन्तोषजनक नभएको बताइरहेका बेला पार्टीका थप केन्द्रीय सदस्यहरूले सरकारले काम गर्न नसकेको भन्दै कार्यक्षमतामाथि प्रश्न उठाएका छन्।
सानेपामा बसेको पार्टी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय समितिका सदस्यहरूले सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको कुरा उठाए। उनीहरुले सरकारको कार्यक्षमतामाथि प्रश्न समेत गरेका छन्। बैठकमा सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको समेत आलोचना भएको छ।
कांग्रेस र एमालेले सरकार गठन गर्नु अघि गरिएको सातबुँदे सहमतिअनुसार अहिले कुनैपनी काम अघि बढ्न नसकेको काँग्रेसका पदाधिकारी सहित केन्द्रीय सदस्यहरूको भनाइ थियो। उपसभापति धनराज गुरुङले समेत गठबन्धन सरकारको काम जनताको पक्षमा नभएको गुनासो गरे।
बैठकमा बोल्दै नेपाली काँग्रेसका उपसभापति गुरुङले सरकार राम्रो र चुस्तसँग चल्नुपर्छ भन्ने धारणा आइरहेको बताए। उनले जुन उदेश्यले सत्ता सहकार्य गरिएको हो त्यसले स्पष्ट रिजल्ट नदिएको बताए।
संविधान संशोधनको मुद्दामा अहिले संशोधन भइरहे पनि अन्य सवालमा सरकारले प्रभावकारी बन्न नसकेको काँग्रेस नेताहरूको निष्कर्ष छ। उनीहरूले सरकारले गरेका कमजोरी सच्याउन सुझाव दिएका छन्।
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सत्ता गठबन्धनभित्र काँग्रेसका पहिचान कम देखिएको भन्दै प्रश्न उठेको बताए। उनले यथास्थितिबाट काँग्रेसले गति लिन नसक्ने बताए। पार्टीलाई नेताप्रधान नभई नीतिप्रधान बनाउनुपर्ने माग गरे।
काँग्रेस केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रभावकारिता बढ्नुपर्ने र बजेटमा देखिएका समस्यालाई पार्टीले गम्भीरताकासाथ लिएर छलफल गर्नुपर्ने सुझाव आएको बताए।
केन्द्रीय सदस्य नारायणप्रकाश साउदले सातबुँदे कार्यक्रमलाई आधार बनाएर सरकार चल्नुपर्ने बताए। सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए।
काँग्रेस केन्द्रीय सदस्य राजन केसीले सातबुँदेअन्तर्गतको संविधान संशोधनको मुद्दाबारे गृहकार्य भइरहेको बताए। उनले सरकारबाट भएका कमी, कमजोरी सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताए।

