‘कुलिङ पिरियड’ मा जालसाजी राजनीतिक ठगी हो: डा.भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद्मा हङ्गामा भैरहेको कुलिङ पिरियडको बिषयमा कडा धारणा सार्बजनिक गरेका छन् ।
मंगलबार दिउँसो सामाजिक संजाल फेसबुकमा लेख्दै भट्टराईले भनेका छन् ,-‘कूलिङ अफ पिरियड’ भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ बर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना नेपाल मात्र हैन विश्व इतिहासकै निकृष्ट र लाजमर्दोमध्ये एक राजनीतिक ठगीको घटना हुनुपर्छ!
उनले अझै अगाडी भनेका छन्,-‘उच्च तहको कर्मचारी र राजनीतिक नेतृत्वको साँठगाँठमा यो देशमा कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका रहेछन् वा हुनसक्नेरहेछन् भन्ने यो जिउँदो र ताजा प्रमाण हो। यसको जति भर्त्सना र निन्दा गरे पनि कम हुन्छ।’
यसैगरी उनले राजनीति र राज्यप्रणालीकै अग्रगामी,लोकतान्त्रिक,समाजवादी पुनर्संरचना र वैकल्पिक शक्तिको आवश्यकता बारे समेत लेखेका छन् ।’हामीले त्यत्तिकै अब टालटुले सुधारले हुन्न बरू देशको समग्र राजनीति र राज्यप्रणालीकै अग्रगामी, लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गरौं भनेर केही बर्षदेखि नयाँ वैकल्पिक राजनीतिवारे चिच्याउँदै आएको हैन है!’-भट्टराईले भनेका छन् ।

