कांग्रेसले कार्यालय विस्तार गर्न १३ करोडमा जग्गा किन्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसर विस्तार हुने भएको छ। त्यसकालागि पार्टीले हालको केन्द्रीय कार्यालय भवन अगाडिपट्टि १९ आना थप जग्गा खरिद गर्ने सम्झौता गरेको छ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै कोषाध्यक्ष उमेश श्रेष्ठले जग्गाधनीसँग सम्झौता गरेको पत्र सार्बजनिक गर्दै यसको पुष्टि गरेका छन् । साथै यस बिषयमा नेपाली कांग्रेसले बिज्ञप्ति जारी गर्दै भनेको छ,-‘कांग्रेस केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडीपट्टी रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा ) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ ।’

ललितपुर निवासी अमीरमान अमात्यको नाममा रहेको सो जग्गा र घर नेपाली कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको छ ।
सो जग्गा १३ करोडमा किनिएको हो। उक्त १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेवि एवं शुभेच्छुकहरूको सहयोग मार्फत सबैको अपनत्व गाँसेर चुक्ता गरिने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

