नेसपा (नयाँ शक्ति) १० औं बर्षमा

काठमाडौं । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) स्थापनाको १० औं बर्षमा प्रवेश गरेको छ।
२०७३ जेठ ३० गते दशरथ रंगशालाबाट एक लाख पार्टी सदस्यले एकैपटक वैकल्पिक शक्ति बनाउने अठोट सहित सपथ खाएर नयाँ शक्ति घोषणा गरिएको थियो। बितेको १० बर्षमा यो पार्टी स्थापनाकालका धेरैजसो अभियन्ताले वैकल्पिक शक्ति निर्माणको एजेन्डा छाडेर पुरानै पार्टीमा फर्किए। तर,डा.भट्टराई सहित केही अग्रगामी बिचार बोक्ने ब्यक्तिहरु वैकल्पिक शक्ति निर्माण झन् बढी आवश्यक रहेको भन्दै अगाडि बढिरहेका छन् ।
यसबीचमा भट्टराईलाई छाड्ने मात्रै होइन साथदिनेहरु पनि थपिएका छन् । खासगरी पुराना दल र राजावादी शक्ति भन्दा फरक रहेर अग्रगामी एजेन्डा बोक्नेहरु अहिले पनि नेसपा नयाँ शक्तिमा आवद्ध रहेको सो पार्टीले जनाएको छ।
आज काठमाडौंको राष्ट्रिय सभागृह सहित देशैभर र विदेशमा पनि नयाँ शक्तिका अभियन्ता एवं पार्टी नेताकार्यकर्ताले स्थापना दिवस मनाउने कार्यक्रम छ। काठमाडौको कार्यक्रममा वैकल्पिक शक्ति निर्माणमा लागेका नयाँ राजनीतिक दल,नागरिक समूह र स्वतन्त्र ब्यक्तिसँग पार्टीले छलफल गर्न लागेको महासचिव सोनम सिंह स्याङतानले परेवान्युजलाई जानकारी दिए।
पुराना दल कांग्रेस,एमाले र माओवादी तथा राजावादी शक्तिलाई निम्तो नगरिएको आजको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी,जनमत पार्टी,नागरिक उन्मुक्ति पार्टी लगायत वैकल्पिक अभियन्तालाई बोलाइएको छ।

