लिग २ क्रिकेट : नेपालले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी एकदिवसीय शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ हराएको छ ।
नेपालले दिएको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो ।
डच टिमका लागि वेस्ले बारेसीले सर्वाधिक ३६ रन बनाए । कप्तान स्कट एडवार्ड्सले ३० र माइकल लेभिटले २७ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए ।
ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो ।
आरिफ शेखले सर्वाधिक ८४ रन बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले समान ३५ रन बनाए ।
नेदरल्याण्ड्सका लागि पल भान मिकेरनले १० ओभरमा ५८ रन दिएर ४ विकेट लिए । माइकल लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।
योसँगै नेपालले यस शृंखलाका ४ मध्ये ३ खेलमा जित निकालेको छ । नेपालले नेदरल्याण्ड्ससँग यसअघि भएको खेलमा पनि जित निकालेको थियो ।
योसँगै लिग २ शृंखलामा नेपालको १६ खेलबाट १२ अंक भएको छ र सातौं स्थानमा छ । नेदरल्याण्ड्सको २३ खेलमा २६ अंक छ ।

