वाइसीएलमा २२ उपाध्यक्ष र ३१ सचिव सहित ७५ पदाधिकारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग(वाइसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनले ७५ पदाधिकारी सहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
अध्यक्षमा पुष्प ओली र महासचिव गणेश शाही निर्वाचित हुँदा २२ जनालाई उपाध्यक्ष, १९ जनालाई उपमहासचिव र ३१ जनालाई सचिव बनाइएको छ। यसअघि ३५ सदस्यीय पदाधिकारीको संख्या रहेकोमा पार्टी भित्रको गुट अनुसार भागबन्डा मिलाउन र आकांक्षी व्यवस्थापनगर्न सजिलो हुनेगरी राष्ट्रिय सम्मेलनले पदाधिकारी संख्या ७५ पुर्याइएको हो।
झन्डै एक साता सम्म सम्मेलनमा आएका प्रतिनिधिलाई अनिर्णयको बन्दी बनाएर अन्तिममा सहमति भयो भन्दै घर फर्काइएको थियो। निर्वाचित २२ उपाध्यक्ष, १९ उपमहासचिव र ३१ सचिवले के काम गर्छन् भन्ने प्रश्न सहभागीले सामाजिक संजालमा उठाउन थालेपछि नेताहरू नाजवाफ भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आइतबार उनीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । वाइसीएलमा गणेशमान पुन,रामप्रसाद सापकोटा,सुमन कोइराला,सुबोध श्रीपाइलीले यसअघि नेतृत्व गरेका थिए। तर,राष्ट्रिय सम्मेलन भने यो तेस्रो हो। कोइराला र श्रीपाइली भेलाबाट अध्यक्ष चुनिएका थिए।




