कांग्रेस नेता भण्डारी भन्छन् : देश बिगार्ने सबैलाई जेल हुनुपर्छ !

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश बिगार्ने सबै नेतालाई जेल पुर्याउनुपर्ने बताएका छन् । उनले ढिलो चाँडो भ्रष्टहरु सबैलाई जेलमा राख्नुपर्ने भएकोले जेलको आकार बढाउन समेत सुझाएका छन् ।
पुर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अख्तियारले डामेपछि चन्द्र भण्डारीको यस्तो प्रतिक्रिया बाहिर आएको हो। उनले भने-‘मुलुक बिगार्ने सबैलाई कारबाही हुनुपर्छ, जेल अलि ठूलो गराउनुपर्यो।’
प्रतिनिधिसभा सदस्य भण्डारीले सत्ताको रापतापमा देश र जनतालाई घाटा हुने काम गर्ने जो–कोहीमाथि पनि छानविन र कानुनी कारबाही हुनुपर्नेमा जोड दिए। संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नीतिगत निर्णयमा पनि मुलुक र जनतालाई घाटा हुन नहुने बताएका थिए । माधव नेपालविरुद्ध पतञ्जली जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको प्रसंगमा उनले भने,‘सत्ताको राप र तापमा मुलुक र जनतालाई घाटा हुने काम गर्नुभएन भन्ने कुरा नेताहरु पनि बुझ्नुपर्यो । अब माधव नेपाल पर्नुभयो । यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन्, नीतिगत रुपमा होस् वा बाहिर होस् ।’
नेता भण्डारीले मन्त्रिपरिषद्को नीतिगत निर्णय भन्दै जे पायो त्यही गर्ने छुट कसैलाई नरहेको पनि बताए । उनले व्यक्ति सत्तामा आउने, जाने भइरहने भए पनि राज्य र जनतालाई घाटा हुने काम गर्ने छुट कसैलाई नरहेको दोहोर्याए । उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयमा जे पनि गर्न पाइन्छ ? मुलुक र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ ? यो त मुलुक हो नि । व्यक्ति त आउने जाने गर्छ नि । मुलुक रहन्छ नि, मुलुकलाई घाटा हुने काम गर्न पाइन्छ ? कारबाही सबैलाई हुनुपर्छ, एउटालाई मात्रै होइन । मुलुकलाई बिगार्ने सबैलाई कारबाही हुनुपर्छ र जेल पनि अलि ठूलो गराउनुपर्छ ।’

