सत्ता पक्षले पेलेर जाने संकेत पाएपछि झुके बिपक्षी दल

काठमाडौं । सत्ता पक्षले पेलेर जाने संकेत देखाएपछि बिपक्षी दलहरू झुकेर संसदमा प्रस्तुत हुने भएका छन् । अब ४ बजे संसद बैठक सुचारु हुनेछ।
सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएको भन्दै माओवादीले अब संसद खुल्ने जनाएको छ । यसअघि गृहमन्त्री रमेश लेखकको राजिनामालाई बटमलाइन बनाएका विपक्षीले सदनको अवरोध हटाउने कुरामा सहमति गरेका हुन् ।
स्रोतका अनुसार सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन् । गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा धारणा राखेर सदन सुचारु गर्ने सहमतिका साथ प्रमुख सचेतकहरू उठेको स्रोतले बतायो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले निरन्तर सदन अवरोध गर्दै आएका थिए । सँगै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको शर्त थियो । यसअघि गृहमन्त्रीलाई बोल्न नदिएका विपक्षीहरू आफ्नो अडानमा ब्याक सर्दै आजको बैठकमा बोल्न दिन तयार भएका हुन् ।

