प्रचण्डलाई पुष्पकमल भन्न नपाईने !

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अब पुष्पकमल भन्न रोक लगाइनुपर्ने कुरा पार्टीको सार्बजनिक कार्यक्रममा नै उठाइएको छ।
माओवादी केन्द्रका नेता सुरेश आले मगरले पुष्पकमल दाहाल सामन्तीले भन्ने नाम भएको र माओवादीले अब ‘प्रचण्ड’ मात्रै भन्नुपर्ने बताएका हुन्। पार्टीको आदिवासी जनजाति संयुक्त मोर्चाका संयोजक समेत रहेका आले मगरले अब पार्टी अध्यक्षको नाम ‘प्रचण्ड’मात्रै भनिनुपर्नेमा जोड दिए ।उनले पार्टीका कुनै पनि कार्यक्रममा अब पुष्पकमल दाहाल भन्न रोक लगाउनुपर्ने समेत बताए।
पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग(वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मगरले भने,-‘मैले अघि आदरणीय कमरेड प्रचण्ड भनेँ। श्रद्धेय भनिनँ, पुष्पकमल दाहाल पनि भनिनँ। किनभने श्रद्धेय, श्रद्धा, पूजा, आरती सामन्ती शब्द हुन्,’ उनले भने, ‘हामीलाई सम्मान गर्न मन लाग्छ, अति सम्माननीय भन्न सक्छौँ। आदरणीय भन्न सक्छौँ।’
पुष्पकमल दाहाल प्रतिगामीले दिएको र उनीहरूले नै भन्ने नाम भएको भन्दै आले मगरले आफुहरुलाई प्रचण्ड नै प्यारो रहेको दोहोर्याए। ‘हामी उत्पीडित जनतालाई प्रचण्ड नाम नै प्यारो लाग्छ। प्रचण्ड नाम नै गर्विलो लाग्छ,’ उनले भने, ‘पुष्पकमल दाहाल प्रतिगामीले दिएको नाम हो, रुचाउने नाम हो। प्रचण्ड होइन। हामीले रुचाउने नाम हो-प्रचण्ड।’

