बजेटपछि अर्थ र गृहमन्त्री परिवर्तन गर्ने तयारी

काठमाडौं । गृहमन्त्री रमेश लेखक विवादास्पद बनेपछि र अर्थमन्त्री विष्णु पौडेल कार्यकुशलतामा चुकेपछि सत्ता गठबन्धनले दुवै मन्त्री फिर्ता बोलाउने भएका छन् ।
दुई पार्टीका शिर्ष नेतृत्वले गृहमन्त्री र अर्थमन्त्रीमा व्यक्ति फेर्ने मात्रै होइन भागबन्डा मै परिवर्तन गर्ने तयारी गरेको छ। स्रोतका अनुसार अब अर्थमन्त्री नेपाली कांग्रेसले लिनेछ भने गृहमन्त्री नेकपा एमालेले पाउनेछ। अहिले एमालेबाट अर्थमन्त्री रहेका विष्णु पौडेललाई हटाएर कांग्रेसबाट नयाँ अर्थमन्त्री बनाउने बारे छलफल भएको छ। त्यसोगर्दा गृहमन्त्री रमेश लेखक पनि हटाइनेछन् । गृहमन्त्रीमा एमालेले रघुविर महासेठलाई ल्याउने चर्चा छ।
उता कांग्रेसले अर्थमन्त्री पाँउदा डा.प्रकाशशरण महत वा ज्ञानेन्द्रबहादुर कार्की मध्य एकलाई पठाउने तयारी छ। यद्यपि यसबारेमा बिस्तृत छलफल बिहिवारको बजेट भाषण पछि मात्रै हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री पौडेलले अपेक्षा अनुसार सुधार गर्न नसकेपछि नयाँ अर्थमन्त्रीको खोजी गरिरहेको तर,बजेट अगाडि संभव नभएकोले मात्रै पौडेललाई बजेट प्रस्तुत गर्न दिइएको हो। त्यसैगरी गृहमन्त्री लेखकको पनि भिजिट भिषा प्रकरणमा नाम जोडिएको र बिपक्षीदलहरूले त्यसैलाई निहुँ बनाएर सदन र सडकमा बिरोध गरेपछि मन्त्रालय र मन्त्री साट्न कांग्रेस सभापति शेरबहादुर देउवा तयार भएका हुन् ।
सरकारले लिएको लक्ष्य हासिल गर्न र आर्थिक सुधारका योजनाहरु कार्यान्वयन गर्न प्राविधिक अर्थमन्त्री चाहिनेमा नन् प्राविधिक र अर्थको सैद्धान्तिक ज्ञान नभएका पौडेलबाट सम्भव नभएको भन्दै एमालेभित्रै अर्थमन्त्रीको आलोचना सुरु भएको छ।
उता, विमानस्थलमा मानव तस्करहरुले गरेको सेटिङ र गृहमन्त्री लेखकको संकास्पद संलग्नता बारे कुरा उठेपछि सरकार र पार्टीमै पनि अफ्ट्यारो आइपर्ने ठानेर कांग्रेस भित्र गृहमन्त्रीको राजीनामा बारे छलफल भएको छ ।तर, प्रतिपक्षीले मागेर राजिनामा दिएको जस्तो नदेखिने गरि पार्टी भित्रैबाट राजिनामाको तारतम्य मिलाइने कांग्रेसका एक नेता बताउँछन् । उनका अनुसार गृहमन्त्रीलाई पार्टीले नै फिर्ता बोलाएर अर्थ मन्त्रालय लिने गरि कुराकानी भैरहेको छ। यसो हुँदा बिपक्षीको अवरोध पनि हट्ने अनि सरकार र पार्टीलाई पनि फेस सेभ गर्न सजिलो हुनेछ।

