गभर्नरको बन्धनमा सत्ता गठबन्धन !

काठमाडौं । दुई ठुला दल मिलेर सरकार बनाएपछि संविधान संशोधन सहित देशमा स्थायित्व कायम हुने र त्यसपछि महत्त्वपूर्ण कामहरू हुनेछ भन्ने जनअपेक्षामा पुनः धोका हुन थालेको छ।
नेपाली कांग्रेस र नेकपा एमाले सहित केही साना दल सहभागी बर्तमान सरकार पनि जनताको चाहना बिपरित सत्ताकै खेलमा रुमल्लिएपछी जनता निरास हुनथालेका छन् । पछिल्लो समय दुई दलकै बीचमा तानातन हुनथालेपछि नेपाल राष्ट्र बैंकले गभर्नर समेत पाउन सकेको छैन। बार्षिक बजेट सार्बजनिक गर्ने दिन नजिक आइरहदा केन्द्रीय बैंक नै नेतृत्व विहिन हुनु दु:खद पक्ष हो। एक महिना अघि नै नियुक्त हुनुपर्ने गभर्नर अहिलेसम्म नियुक्त हुननसक्नुमा दुई ठुला दल नै जिम्मेवार छन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीच सुमधुर सम्बन्ध हुँदाहुँदै गभर्नर नियुक्तिको बिषयले सम्बन्धमा दरार देखिन थालेको छ। यो राम्रो संकेत होइन। दुई नेताबीच चित्त दु:खाईको बिषय नै गभर्नर नियुक्ति देखिएको छ।
यसको प्रत्येक्ष असर सोमबारको मन्त्री परिषद बैठक स्थगित र दुई नेताबीच हुने भनिएको भेटघाट नहुनुमा देखियो। सरकार गठनपछि निर्धारित समयमा बोलाइएको मन्त्री परिषद बैठक नै स्थगित भएको र दुई नेताबीच भेटघाट गर्ने भनेर पनि भेट्न अनिच्छुक भएको यो पहिलो घटना हो। सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद् बैठकमा गभर्नर नियुक्तिको बिषय मुख्य हुने अड्कल थियो। दिनभर त्यस्तै हल्ला बाहिरिएको थियो।
सोमबार साँझ ६ बजेका लागि बोलाइएको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा निर्णय गर्ने अनुमान गरिएको थियो। तर,न बैठक भयो न नियुक्तिका कुनै चर्चा भए। अझै अचम्म त के भने बैठक अघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटघाट हुने कुरा थियो त्यो पनि भएन।
गभर्नर नियुक्तकै बिषयमा दुई नेताबीच कुरा नमिलेपछि मन्त्री परिषद बैठक बस्न आवश्यक नै नभएको भन्दै अन्तिम समयमा बैठक स्थगित भएको हो। यो रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक समेत प्रभावित हुन थालेपछि गभर्नर नियुक्ति थप अन्योल बनेको छ।

