आईपीएलका बाँकी खेल आजदेखि, बेङ्गलुरु र कोलकाता खेल्दै

काठमाडौं । इन्डियन प्रीमियर लिग (आईपीएल)का बाँकी खेल आज शनिबारदेखि पुनः सुरु हुने भएको छ।
आईपीएल चलिरहेका बेला भारत-पाकिस्तानबीच तनाव बढेपछि रोकिएको थियो। अहिले भारत-पाकिस्तान बीच युद्ध बिराम सहमति भएपछि आईपीएल सुरु गर्न लागिएको हो। भारत-पाकिस्तान युद्धले बन्द भएका विमानस्थल पनि सुचारू भैसकेको छ।
परिमार्जित खेल तालिकाअनुसार बेङ्गलुरुमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सले नेपाली समयअनुसार बेलुका पौने ८ बजे खेल्दैछन् ।
बेङ्गलुरु ११ खेलमा १६ अङ्कसहित तालिकाको दोस्रो र कोलकाता १२ खेलमा ११ अङ्कसहित छैटौं स्थानमा छ ।
गएको अप्रिल २२ तारिखमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि दुई देशबीच विवाद बढेसँगै मे ८ तारिखमा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेका बेला पूरा नहुँदै रोकिएको थियो । गत हप्ता शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू गर्ने निर्णय भएको थियो ।
आईपीएलमा क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै अर्को क्वालिफायर दुई जेठ १८ गते हुनेछ । फाइनल खेल जेठ २० मा हुनेछ ।

