३२औं मदन-आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौं । चितवनको दाशढुङ्गामा ज्यान गुमाएका नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । त्यसलाई हत्या कि दुर्घटना भन्ने अहिलेसम्म पत्तो लगाइएको छैन। त्यसदिनका गाडी चालक अमर लामाको समेत काठमाडौंको किर्तिपुरमा हत्या गरिएपछि यो घटना थप रहस्यमय बन्न पुगेको छ।

मदन-आश्रीतको हत्या भएको दिन पानी परिरहेको र पोखराबाट चितवन जाँदै गर्दा जीप त्रिशुलीमा खसेको थियो। आश्रीतको शव भोलिपल्ट जीपमै भेटियो भने भण्डारीको शव ४ दिनपछि भरतपुरको नारायणी किनारमा भेटिएको थियो। दुर्घटनामा चालक लामा भने घाइते समेत भएका थिएनन् । त्यसैले यो रहस्यमय दुर्घटना थियो भनेर अहिलेसम्म पनि चर्चा गरिन्छ।

नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै मदन-आश्रीतको स्मरण गरेपनी हत्याको रहस्य खोतल्न वा घटनाको सत्य तथ्य खोजी गर्न भने आलटाल गर्दै आएको छ । मदन-आश्रीतको हत्यापछि नेकपा एमालेबाट मनमोहन अधिकारी,झलनाथ खनाल,माधवकुमार नेपाल र केपी शर्मा ओली प्रधानमन्त्री भए। मदनकै श्रीमती विद्यादेवी भण्डारी ७ बर्ष राष्ट्रपति भईन। त्यसबाहेक पनि गृह र रक्षामन्त्री एमालेबाट धेरैपटक धेरै नेता भए । तर, दसढुङ्गा हत्या हो वा दुर्घटना भनेर छानबिन गरिएन ।

हरेक बर्ष स्मृति दिवस मनाउने,श्रद्धाञ्जली दिने,फेसबुकमा भावनात्मक पोष्ट गर्ने र मदन-आश्रीतको नाममा फाउन्डेसन चलाउने बाहेक एमाले नेतृत्वले कुनै कदम चालेको देखिदैन । आज पनि एमालेकै तर्फबाट केपी शर्मा ओली प्रधानमन्त्री छन् । तर, घटनाको सत्यतथ्य खोज्न तयार छैनन् ।कर्मकाण्डी हिसाबले आज एमालेले बल्खुमा रहेको पुरानो पार्टी कार्यालयस्थित मदन भण्डारीको शालिकमा बिहान साढे ८ बजे माल्यापर्ण गरे, चिया खाएर फर्किए।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । जीप चालक अमर लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ । आशा छ अझै एमालेले सत्तामा पुग्न मदन-आश्रीतका शालिकमा फूल चढाइरहने छ अनि फेसबुकमा पोष्ट लेख्न नेताहरू लागिरहने छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय