नेसपा (नयाँ शक्ति)ले विचार मिल्नेसँग सहकार्य गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले बिचार मिल्ने बैकल्पिक शक्तिहरुसँग सहकार्य गर्न सकिने बताएको छ। पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
नेसपा (नयाँ शक्ति) को केन्द्रीय कार्यालय, तीनकुनेमा अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले एकताको पहल र छलफल गर्न उपाध्यक्षद्वय दुर्गा सोब, मानुषी यमी भट्टराई, महासचिव सोनाम सिं स्याङ्तान र नेता जिएस गुरुङ रहेको समिति समेत बनाएको छ।
बैठक पछि सार्वजनिक गरिएको निर्णय नम्बर ५ मा भनिएको छ -‘विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जी. एस. गुरुङ सम्मिलित राजनीतिक संवाद समिति गठन गरिएको छ।’
यसैगरी बैठकले आगामी जेठ ३० गते पार्टी स्थापना दिवस भब्य रुपमा मनाउने निर्णय पनि गरेको छ। २०७३ जेठ ३० गते तत्कालीन नयाँ शक्ति पार्टी घोषणा भएको थियो। सोही अनुरुप बैठकले काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने तथा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षारोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविर लगायतका विविध रचनात्मक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ।
त्यस्तै बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले भारत प्रवासमा आयोजित अधिवेशनमा सहभागी भई त्यहाँका शीर्ष राजनीतिक नेतृत्व, कूटनीतिक नियोगका प्रतिनिधि र सञ्चारकर्मीहरूसँग नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखी गर्नुभएको उच्चस्तरीय भेटघाट र राजनीतिक संवादले दुई देशबीचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका खेलेको ठहर पनि बैठकले गरेको छ।
पार्टीको प्रथम महाधिवेशनपछि उठाइएको वैकल्पिक राजनीतिक एजेन्डाप्रति जनसमर्थन विस्तार हुँदै गइरहेको सन्दर्भमा, बैठकले देशव्यापी संगठन निर्माण र विस्तारलाई तीव्र बनाउँदै “प्रशंसा अभियान” (प्रशिक्षण, संगठन विस्तार र सामाजिक परिचालन) लाई निरन्तरता दिने निर्णय गरेको पनि प्रबक्ता कृष्ण शर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

