पुर्व महामन्त्री सहित कांग्रेसका ९ नेता राजावादी लाइनमा !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका पुर्व महामन्त्री कुलबहादुर गुरुङ सहित ९ जना नेताले राजनीतिक ‘कोर्स करेक्सन’ को कुरा उठाउदै राजावादी लाइन लिएका छन् ।

उनीहरुले निषेधको राजनीति परित्याग गर्दै प्रजातान्त्रिक एवम् देशभक्त राष्ट्रवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन नेतृत्वदायी भूमिकाका लागि नेपाली कांग्रेस नेतृत्वसँग आग्रह समेत गरेका छन् । नेपाली काँग्रेसले समयको गति र देशको जटिल राजनीतिक अवस्थामाथि गम्भीरतापूर्वक ध्यान दिँदै आवश्यक परे पार्टीको महासमिति वैठक वोलाएर निर्णय लिन समेत सुझाएका छन्।

यसरी सामूहिक वक्तव्य जारी गर्नेमा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वशिक्षामन्त्री कुलबहादुर गुरूङ, पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, पूर्वमन्त्री विपीन कोइराला, कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरे. पूर्व प्रमुख सचेतक विनयध्यज चन्द, पूर्वमन्त्री दीपकुमार उपाध्याय, पूर्वराज्यमन्त्री रामचन्द्र अधिकारी, पूर्वराज्यमन्त्री सुरेन्द्र हमाल र कांग्रेस नेता लोकेश ढकाल छन्।

उनीहरूले जारी गरेको सामूहिक वक्तव्यमा भनिएको छ-‘राष्ट्रमाथि मडारिएको सङ्कटको बादल र त्यसको चुनौतीको जटिल अवस्थामा देशका सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिएर राष्ट्रिय एकताको आधारमा राष्ट्र, राष्ट्रिय अखण्डता र नेपाली जनताको सर्वोपरी हितलाई ख्याल गर्दै दलीय स्वार्थभन्दा माथि उठेर ताजा राजनीतिक समझदारी निर्माण गरेर अगाडि बढ्ने समय आएको छ।’

देशमा निराशा र दुरावस्थाको कारण राजनीतिक दलहरू नै रहेको ठहर गर्दै उनीहरूले वक्तव्यमा भनेका छन्- ‘बढ्दो धार्मिक, साँस्कृतिक एवम् सामाजिक विकृति र विसंगतिहरूले हाम्रो आपसी सामाजिक एवम धार्मिक सहिष्णुता र सद्भावको वातावरणलाई विथोल्ने काम भैरहेको छ । देश यस्तो चरम निराशा र दुरावस्थामा पुग्नुको प्रमुख जिम्मेवार लामो समयदेखि सत्ता शक्तिमा रजगज गरेर वसेका राजनीतिक दल र यसको नेतृत्व हो भन्ने हाम्रो ठहर छ।’

उनीहरूले पार्टीको तर्फबाट आत्मालोचना गर्दै कांग्रेसले अप्ठ्यारो घडीमा नेतृत्वदायी भूमिका खेल्न चुकेको समेत बताएका छन्।‘नेपाली कांग्रेस विगत लामो समयदेखि सिद्धान्त र विचारको राजनीति छोडेर केवल सत्ता र शक्तिका लागि अप्राकृतिक गठवन्धन एवम् सम्झौताको राजनीति गर्दै आए पछि यसले विगतको जस्तो राष्ट्रिय राजनीतिमा त्यो ऐतिहासिक गौरवशाली नेतृत्वदायी भूमिका निर्वाह गर्न चुक्दै आएको छ,’ उनीहरूले भनेका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय