रेशम पक्राउसँगै प्रज्ञा भवनमा सन्नाटा !
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच पार्टी एकताको घोषणा हुनु अगावै पार्टी संरक्षक भनिएका नेता रेशम चौधरी पक्राउ परेपछि कार्यक्रम स्थलमा सन्नाटा छाएको छ।
आजै दिउँसो दुई पार्टी एकता हुने र पार्टी संरक्षक चौधरी रहने तय थियो। एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी हुने अध्यक्ष सिके राउत र सह अध्यक्ष रेशम पत्नी रन्जिता श्रेष्ठ रहने सहमति भएको छ।
तर, रेशम पक्राउ परेपछि घोषणा सभामा बोलाइएका नेताकार्यकर्तामा चिन्ता थपिएको छ भने प्रज्ञा भवनमा अन्यौलता बढेको छ। कार्यक्रम सुरु भएको छैन। कार्यक्रम गर्ने हल बन्द छ भने अध्यक्ष सिके राउत र रन्जिता श्रेष्ठ लगायत नेतृत्व कार्यक्रम स्थल गएको छैन।
रेशम पक्राउ परेपछि रन्जिता समेत अलमलमा रहेको र पार्टी एकता समेत प्रभावित हुनसक्ने त्यहाँ उपस्थित कार्यकर्ताको बुझाइ छ। पार्टी एकताको गृहकार्य चलिरहेका बेला केही दिन अघि जनमत अध्यक्ष सिके राउतलाई समेत ज्यानमार्ने धम्की आएको र रेशमलाई पक्राइदिने चेतावनी स्वरुप कसैले मेसेज गरेको बुझिएको छ। यद्यपि यो बिषयमा कतै उजुरी परेको छैन।
२०७२ को टिकापुर हत्याकाण्डमा रेशम ५ बर्ष भन्दा बढी जेल बसेर नेपाल सरकारको सिफारिस अनुसार राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका हुन् ।