थारु बस्तीमा प्रचण्ड : मुसा र गँगटा सहितको भोजन
काठमाडौं । जनजागरण अभियान लिएर सुदुरपश्चिमको कैलाली पुगेका पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीय परिकार सहित स्वागत गरिएको छ।
अभियानमा प्रायः सहिद तथा बेपत्ता परिवारकै घरमा बास बस्ने गरेका प्रचण्ड कैलालीमा पनि स्थानीय कै घरमा बसेर उनीहरुकै मौलिक परिकारसँगै रमाएका छन् ।
प्रचण्ड सहितका नेताकार्यकर्तालाई कैलालीमा थारु बस्तीको परम्परागत र मौलिक परिकार खुवाउन त्यहाँका स्थानीय नेतादेखि जनता समेत खटिएका थिए। माओवादीको जागरण अभियान झापाबाट सुरु भएको हो। यो अभियान आज कंचनपुरमा समापन हुनेछ। यही अभियान अन्तर्गत कैलाली पुगेका अध्यक्ष प्रचण्ड लगायत पदाधिकारी र केन्द्रिय नेतालाई थारु पहिचान झल्किने पोशाक सहित परिकार समेत चखाए।
कैलाली जिल्लाको कैलारी गाउँपालिका-५ बैजपुरमा बसेका अध्यक्ष प्रचण्डसहितका नेताहरूको लागि स्थानीयले चामलको कनिकाबाट बनाइने खुडिक कपुवासँगै मुसा, गँगटा र बयरको चटनी अनि लोकल कुखुराको मासु र घोँघी खुवाएका थिए। खाने बेलामा प्रचण्डले मौलिक परिकार बारेमा जिज्ञासा् समेत राखेका थिए।
प्रचण्ड आउने खबर पाएसँगै स्थानीयले खेत खनेर मुसा जम्मा पारेका थिए भने घोंघी, गँगटा र माछाको पनि ब्यवस्था मिलाएका थिए । त्यसपछि उनीहरुले टपरी र दुनामा खाना पस्केर दिएका थिए। दिइएका सबै परिकार प्रचण्ड सहितका नेताले मीठो मानेर खाएको देखेर स्थानीय खुशी भएका थिए। खानासँगै प्रचण्डले स्थानीयसँग गफगाफ पनि गरेका थिए।