नाउपा-जनमत पार्टी एकता आज
काठमाडौं । रेशम चौधरी संरक्षक र रन्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टी बीच आज एकता हुने भएको छ।
प्रज्ञा भवनमा दिउँसो हुने पार्टी एकताको सबै तयारी पूरा भएको छ। एकता गर्नुपुर्व हिजो जनमत पार्टीको अन्तिम केन्द्रिय समिति बैठक बसेर प्राबिधिक पक्ष समेत टुंगोमा पुर्याएको बताइएको छ। दुबै पार्टीको अन्तिम केन्द्रिय समिति बैठक सकिएको र आज एकता भएपछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहने छ।
दुई पार्टी एकताको घोषणा भएपछि शुक्रबार १९ बैशाखमा निर्वाचन आयोगमा ‘नागरिक जनमत पार्टी’ दर्ताका लागी निवेदन दिने तयारी छ। एकीकृत पार्टीको अध्यक्ष सिके राउत हुनेछन् भने रेशम चौधरी संरक्षक र रन्जिता श्रेष्ठ सह अध्यक्ष हुने पक्का भएको छ। त्यसैगरी दुई पार्टी मिलाउदा ५० सदस्यीय पदाधिकारी सहित ७०० जना सम्मको केन्द्रिय समिति र केन्द्रिय बिभाग रहनेछ।
पार्टीको चुनाव चिन्ह ढकिया हुनेछ। ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह थियो। यो संगै जनमत पार्टीको हर्न माइक चुनाव चिन्ह लोप हुनेछ। दुबै पार्टीका प्रतिनिधि सभामा १० सांसद हुनेछन् । त्यसैगरी मधेस प्रदेशमा मुख्यमन्त्री र सुदुरपश्चिम र लुम्बिनी प्रदेशमा मन्त्रीहरु पनि हुनेछन् ।