दुर्गा प्रसाईंको बयान : भित्रैबाट रिस उठ्यो अनि…

काठमाडौं । गत चैत १५ गते काठमाडौं तीनकुनेमा आयोजित राजावादी समूहको प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंले सबै सम्पत्ति सकिएपनि आफुले राजा ल्याएरै छाड्ने बयान प्रहरीलाई दिएका छन् ।

प्रदर्शनलाई अराजक बनाउन भूमिका खेलेको आरोपमा पक्राउ परेका प्रसाईं हाल प्रहरी हिरासतमा नै छन् । प्रदर्शनमा २ जनाको मृत्यु सहित सार्बजनिक र निजि सम्पत्तिमा लुटपाट,तोडफोड र आगजनी भएपछि भागेर भारत पुगेका दुर्गा प्रसाईं पक्राउ परेपछि उनिमाथी संगठित अपराधको मुद्दा  चलाइएको छ।

यो मुद्दामा ६० दिनसम्म हिरासत राख्न पाउने भएकोले अहिले प्रहरीले बयान लिइरहेको छ।यद्यपि प्रसाईंले प्रहरी लक्षित गाडी चलाउने,आगो लगाउने वा विध्वंस गर्ने आफ्नो मनसाय नरहेको बयानमा भनेका छन् ।

उनले प्रहरीलाई भनेका छन्,-‘मेरो पनि प्रहरी दाजुभाइ मार्ने उद्देश्यले गाडी त्यसरी चलाउने कुनै योजना होइन । तर, स्टेजमै अश्रुग्यास हानेपछि भने असैह्य भयो । भित्रबाट नै रिस उठ्यो, अनि गाडी त्यसरी हुँइकाएको हुँ । तर, मैले राजा त ल्याएरै छोड्छु । बरु मेरो सबै सम्पत्ति नै सकियोस् । म यो आन्दोलन रोक्नेवाला छैन ।’

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार प्रसाईंले हिरासतमा बस्दा कुनै पछुतो मानेका छैनन् । बरु अझै राजा ल्याएरै छाड्छु भनिरहन्छन्। प्रसाईंले प्रहरीसँगको प्रारम्भिक बयानमा प्रदर्शनमा मान्छे मार्ने वा अराजकता मच्चाउने नियत थिएन र अझैपनी त्यस्तो नियत राख्दिन,तर जसरी पनि राजसंस्था पुनस्र्थापना गरी छाड्छु भन्ने छन् ।

उनले आफ्नो कार्यक्रम सञ्चालन हुनुपूर्व नै प्रहरीले स्टेजमा अश्रुग्यास प्रहार गरेपछि भने सहन नसकेको जिकिर गरेका छन्।’त्यो देखेपछि मैले सहनै सकिन,अनि गाडी लिएर त्यसरी कुदाएको हुँ’-पटकपटक उनले यहीकुरा भनिरहेका छन् ।

प्रसाईं र अन्य आन्दोलनकारीको बयान फरक छ। सोही आन्दोलनमा पुगेका राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्शेर राणाले चाहिँ प्रदर्शनमा अराजकता मच्चाएर व्यक्तिको ज्यान लिने कुनै उद्देश्य नरहेको इन्कारी बयान दिएका छन् ।

प्रहरीलाई दिएको बयानमा उनीहरु दुबैको बयान मिल्दोजुल्दो देखिन्छ। यद्यपि अहिले राणा क्यान्सर उपचारको लागि हिरासत मुक्त भएर भारत गएका छन् । बोलाएको बेला हाजिर गराउने सर्तमा राणालाई उनकी श्रीमतीको जिम्मा लगाइएको छ।’बयानका क्रममा मिश्र र राणाको भनाइ लगभग एकै देखिन्छ’ उनीहरुको भनाइ बारे स्रोत भन्छ-,‘प्रदर्शन राजसंस्था पुनस्र्थापनाका लागि गरिएको थियो । आगजनी र मान्छे मार्ने उद्देश्यले गरिएको होइन । दुर्भाग्य भयो । यसमा राज्यको भूमिका पनि उत्तिकै छ ।’

हिरासतमा दुर्गा प्रसाईंलाई छुट्टै कोठा होइन अन्य थुनुवा राखिएको कोठामै राखिएको छ । मिश्रलाई भने अर्को छुट्टै कोठा छ । हिरासत कक्षभित्र मिश्र र प्रसाईंको भने भेट हुँदैन । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद पाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय