यसरी हुँदैछ जनमत र नाउपा पार्टीबीच एकता

अध्यक्ष सिके राउत,संरक्षक रेशम चौधरी

काठमाडौं। तराई मधेसको उदाउँदो दल जनमत पार्टी र पश्चिम तराई (थारु बाहुल्य) क्षेत्रमा प्रभाव रहेको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता हुने भएको छ।

यही बैशाख १७ गते नेपाल प्रज्ञा भवनमा दुई पार्टी बीच एकीकरण घोषणा हुने जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए। उनका अनुसार पार्टी एकीकरणको विषयमा थप छलफलका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक १६ गते मङ्गलबार बेलुकी बोलाएको छ। मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बेलुकी ६ बजे बस्ने बैठकमा आ-आफ्नो नागरिकता र मतदाता परिचय पत्र लिएर उपस्थित हुन जनमतले नेताहरुलाई सूचीत समेत गरेको छ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीले पनि केन्द्रिय समिति बैठक बोलाएको छ। उन्मुक्ति पार्टीले पनि नेतालाई नागरिकता र मतदाता परिचयपत्र अनिवार्य लिएर आउन भनेको छ।

एकीकरणपछि बन्ने पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको नेताहरुले बताएका छन्। नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी टुङ्गो लागेको छ। त्यसैगरी चुनाव चिन्ह ‘ढकिया’ हुनेछ। जुन नागरिक उन्मुक्तिको चुनाव चिन्ह हो।

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत रहने समझदारी बनेको छ भने नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी नयाँ पार्टीको पनि संरक्षक रहने र सहअध्यक्ष नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ रहनेछिन्।

विस २०७७ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विस २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए। हाल प्रतिनिधि सभामा जनमतका ६ जना र नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद छन्। त्यसैगरी मधेस प्रदेशमा जनमतको मुख्यमन्त्री छन् ।

यसअघि जनमत पार्टी कार्यालयको तस्बिर सार्वजनिक गर्दै नागरिक उन्मुक्तिकि अध्यक्ष रन्जिता श्रेष्ठले वैशाख १७ गते इतिहास बदल्ने दिन रहेको उल्लेख गरेकी छन्। उनले जनमत र नाउपाको माटो र आवाज पनि एकै भएकाले एकता सम्भव भएको प्रस्ट पारेकी छन्।

उनले दुई पार्टीबीचको एकता केवल राजनीतिक निर्णय नभएर मधेस र सुदूरपश्चिमका जनताको आँशु, संघर्ष र सपना सँगाल्ने निर्णय भएको पनि बताएकि छिन्।

‘मधेसका ती गर्मीको डिलमा पसिना बगाउने किसान होस् वा थरुहट-पश्चिमका जंगल र खोलामा अधिकार खोज्ने युवा, सबैको घाउ एउटै थियो, बेवास्ता। सबैको चाहना एउटै हो, सम्मान। आज, हामी मधेस र सुदूरपश्चिमको मुटुलाई जोड्दैछौं। हामी एउटै माटोका सन्तान हौं’-रन्जिताले भनेकी छन् ।

उनले अझै अगाडि भनेकी छिन् -‘जहाँ मधेसको सास फुक्दछ, त्यहीँ थरुहटको मुटु धड्कन्छ। यो एकता, विभाजनको अन्त्य हो। यो एकता, हाम्रो पहिचान, सम्मान र अधिकारका लागि साझा यात्रा हो। अब हामी छुट्टाछुट्टै क्षेत्र होइनौं, एउटै आन्दोलन हौं। एउटै सपना हौं, समानताको, स्वाभिमानको, समावेशी राष्ट्रको।’

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय